मधेसी दल अर्थात सत्ताको लोभी र फुटको अर्को नाम: लोसपामा फेरि विवाद (भिडियो रिपोर्टसहित)

१३ पुस २०७८ काठमाडौं । जनता समाजवादी नेपाल पार्टी विभाजनपछि बनेको लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा विवाद चर्चिएको छ । पार्टीको प्रदेश २ र जिल्ला नेतृत्व चयनमा नेतृत्वले मनोमानी गरेको भन्दै असन्तुष्ट पक्ष धर्नामा छ । धर्ना दिनेमध्ये नेता अनिल झाकी पत्नी डिम्पल झा पनि हुनुहुन्छ । समस्या समाधान गर्ने स्थानमा स्वयम् अनिल झा आफैं हुनुहुन्छ ।
मधेसी दल भन्नासाथ सत्ताको लोभी र फुटको अर्को नाम भन्ने चलन छ । सत्तामा जानासाथ फुटिहाल्ने अनि चुनावमा जनताको आदेशका नाममा जुटको नाटक गर्ने उनीहरुको रोगै हो । विगतमा १८ टुक्रासम्म भएको सद्भावना अनि मधेसी जनअधिकार फोरम नामको फुटको घरले लोभी राजनीतिको प्रतिबिम्ब पेश गरेका छन् ।
पछिल्लोपटक ओली सत्तामा सांसदभन्दा बढी मन्त्रीको लोभमा फसेको विभाजित जनता समाजवादी पार्टीमा विवाद भने रोकिएको छैन । हालको सत्तामा बम्पर भाग पाएको उपेन्द्र यादवको जसपामा पनि विवाद सुरु भएको छ। तर यादवसँग भातभान्छो काढेर मधेस ओर्लिएका महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टी त फेरि आज फुट्ने हो कि भोली भएको छ। (जसपा) विभाजन भएको पाँच महिनामै महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी र अनिल झाको लोसपामा पार्टीभित्रै न्यायका लागि पार्टी कार्यालयमा धर्ना शुरु भएको छ।
पार्टीको मूल आधार क्षेत्र मानिएको प्रदेश २ मा देखिएको विवादले केन्द्रमा धर्ना शुरु भएको हो । सांसद डिम्पल झा , तत्कालीन जसपाका धनुषा जिल्ला अध्यक्ष संजय सिंह लगायतका नेताहरुको समूहले काठमाडौंको बबरमहलस्थित पार्टी कार्यालयमा तीन दिनदेखि धर्ना दिइरहेको छ । अनिल झा पत्नी डिम्पलसहितका नेताहरुले पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुर, नेताहरु राजेन्द्र महतो, शरदसिंह भण्डारी र अनिल झाले भागबण्डा गरी प्रदेश र जिल्ला नेतृत्व चयन गरेको आरोप लगाएका छन् ।
कार्यकारिणी समितिको बैठक बसेर सामूहिक निर्णय गर्नुपर्नेमा खासगरी अध्यक्ष महन्थ ठाकुरले एकलौटी गरेको असन्तुष्ट पक्षको आरोप छ ।
तीन दिनदेखि धर्ना दिए पनि आफूहरुको मागको सुनुवाइ नभएको धर्नामा बस्नेहरुले गुनासो गरेका छन् । धर्नामा बसेको तीन दिनपछि मंगलबार धर्नास्थलमा नेता अनिल झा पुगेर आन्दोलनकारीको गुनासो सुनेझैं गर्नुभयो । यसैपनि उहाँको त ‘तिमी कुटेझैं गर म रोएझैं गर्छु’ न हो ।
प्रदेश र जिल्लाको नेतृत्व चयनको निर्णय पुनरावलोकन गर्नुपर्ने माग आन्दोलनकारीको छ । आन्दोलनकारीले जे आवरण र नाममा अनशन र धर्ना गरेपनि विवादको चुरोचाहीँ अध्यक्ष ठाकुर र राजेन्द्र महतोको शक्ति संर्घष नै हो । विगतमा आफ्ना पक्षीय सांसद र केन्द्रीय सदस्यको बलमा पार्टीमा भाग खोज्दै नेतृत्वलाई झुकाइरहेका महतोकै निर्देशनमा धर्ना भएको ठाकुर पक्षको आरोप छ।
प्रतिक्रिया