माओवादीको बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफल हुँदै

१३ पुस २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रको बन्दसत्रमा आज बन्दसत्रमा पेश भएका दुई प्रतिवेदनमा छलफल शुरू हुँदैछ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको वैचारिक तथा राजनीतिक प्रतिवेदन तथा देव गुरुङले प्रस्तुत गरेको विधान मस्यौदामाथि आज छलफल हुन लागेको हो ।
प्रचण्ड र गुरुङले प्रस्तुत गरेका दुवै प्रतिवेदनमाथि छलफल गर्न २५ समूह बनाइएको छ । प्रदेशगत रूपमा समूह विभाजन गरी संयोजक र ठाउँहरू तोकिएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडादेखि पार्टी प्यालेससम्ममा समूहगत छलफल हुने माओवादी केन्द्रले जनाएको छ ।
विधान मस्यौदामा पदाधिकारीमा अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, २ उपमहासचिव, ३ सचिव र एक कोषाध्यक्ष गरी १५ पदाधिकारीको व्यवस्था प्रस्ताव गरिएको छ ।
पदाधिकारी समावेशी बनाइने छ । त्यस्तै केन्द्रीय कमिटी २ सय ९९ सदस्यीय हुने र केन्द्रीय कमिटीको १० प्रतिशत मनोनित गर्न सकिने प्रस्ताव गरिएको छ ।
बन्दसत्रमा कूल एक हजार ६ सय ३१ प्रतिनिधि तथा पर्यवेक्षक सहभागी छन् । आज दिनभर समूहगत छलफल सकिएपछि भोलि बिहान ११ बजेदेखि समूह प्रमुखहरुले निष्कर्ष प्रस्तुत गर्ने छन् ।
प्रतिक्रिया