चिसो बढ्ने क्रम जारी, तराईमा हुस्सु र कुहिरो लाग्ने क्रम बढ्यो

५ पुस २०७८ काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले तराईसहितका भू–भागमा चिसो बढ्ने क्रम बढेको बताएको छ ।
महाशाखाका अनुसार तराईका भू–भागहरूमा बिहानको समयमा हुसु/कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रम जारी छ । महाशाखाले हाल देशमा उल्लेखनीय प्रणालीको प्रभाव नरहेपनि पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको बताएको छ।
आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली हुँदा पहाडी तथा हिमाली जिल्लामा हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । आज राति देशभर आंशिक बदली रहनेछ।
यसैबीच, काठमाडौंको आज बिहानको तापक्रम ३ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ । बिहान ६ बजे गरिएको मापनमा काठमाडौंको तापक्रम ३ दशमलव ६ डिग्री सेल्सियस रहेको थियो । तर, दिउँसो काठमाडौंको तापक्रम १६ देखि १८ डिग्री सेल्सियससम्म पुग्ने मौसमविद् मञ्जु बासीले बताउनुभयो ।
उहाँका अनुसार आज दिउँसो काठमाडौंको मौसम सफा रहने र पारिलो घाम लाग्ने सम्भावना छ ।मध्ये जाडोमा रहेका कारण देशका विभिन्न स्थानको तापक्रम घट्ने क्रम रहने पनि उहाँले बताउनुभयो । उहाँले चिसो बढ्ने क्रम जारी रहेकाले चिसोबाट जोगिन आवश्यक सावधानी र सतर्कता अपनाउन पनि आग्रह गर्नुभयो ।
प्रतिक्रिया