समाज

फेवातालको ४ किल्ला निर्धारण समितिद्वारा २० वर्षे गुरुयोजना सार्वजनिक (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर १७ गते ६:४६
फेवातालको ४ किल्ला निर्धारण समितिद्वारा २० वर्षे गुरुयोजना सार्वजनिक (भिडियो रिपोर्टसहित)

१७ मंसिर २०७८ पोखरा । फेवातालको ४ किल्ला निर्धारण, सिमांकन तथा नक्सांकन समितिले २० वर्षे गुरुयोजना सार्वजनिक गरेको छ । समितिले तालको दीर्घकालीन संरक्षण र विकासका लागि गुरुयोजना अनुसार अघि बढ्न ३ तहको सरकारलाई सिफारिस समेत गरेको छ ।

गुरुयोजना अनुसार नयाँ सरंचना विकास गर्न ताल वाहेकको ६ सय २४ रोपनी जग्गा आवश्यक पर्छ भने ७६ अर्ब ७७ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

समितिले एकीकृत प्रतिवेदनका अलावा फेवाताल सिमाभित्र परेका कित्ता जग्गाको छानबिन तथा ताल संरक्षणका लागि दीर्घकालीन गुरुयोजना बनाएको छ । फेवातालको गुरुयोजनाको रुपमा दोस्रो ठूलो बृहत टुडिँखेल गुरुयोजना अघि सारिएको छ । गुरुयोजना कार्यान्वयनका लागि ७६ अर्ब ७७ करोड रुपैयाँ लाग्ने अनुमान छ । गुरुयोजनालाई अल्पकालीन, मध्यकालीन र दीर्घकालीन विभाजन गरी कार्यान्वयन गर्ने तयारी छ ।

गुरुयोजनाको अल्पकालीन कार्यक्रम अन्तर्गत फुटट्रयाकलगायतका संरचना बन्ने छन् । मध्यमकालीन योजना अन्तर्गत फेवा जलाधार क्षेत्रका खोलाको पानीलाई व्यवस्थापन गर्न मिनी तालको परिकल्पना गरिएको छ । जसमा सिल्ट्रेसन ड्याममा जम्मा भएको गेग्रान माटोको व्यवस्थापन गरी मुल तालमा शुद्ध पानी पठाउने योजना समेत छ ।

दीर्घकालीन योजना अन्तर्गत फेवातालमा मिसिएको ढलको पानी व्यवस्थापनका लागि गैराको चौतारादेखि ढल बनाएर फुस्रेखोलामा पानीको निकास दिनुपर्ने छ । गुरुयोजनामा सेतीको पानीबाट फेवा ताल साइडमा जलविद्युत उत्पादनलाई प्राथमिकता दिइएको छ । गुरुयोजना अनुसार नयाँ सरंचना विकास गर्न ताल वाहेकको ६ सय २४ रोपनी जग्गा आवश्यक पर्छ । धेरैजसो जग्गा सार्वजनिक र थोरै व्यक्तिगत छ ।

सर्वोच्च अदालतले २०७५ वैशाख १६ गते ६ महिनाभित्र फेवाताल संरक्षण सम्बन्धी योजना अघि बढाउन निर्देशन दिएको थियो । तर सरकारले ढिला गरि सिमांकन समिति बनाएर क्षेत्रफल टुङ्गो लगाए पनि फिल्डमा देखिने गरि काम गर्न सकेको छैन ।

समितिको प्रतिवेदन राजपत्रमा प्रकाशित भइसकेको छ , तर कार्यान्वयन भएको छैन । प्रतिवेदनले जग्गाको अवस्था वारे विस्तृत जानकारी प्रतिवेदनमा दिएको छ । कतिपय तालभित्रका जग्गा समेत व्यक्तीको नाममा दर्ता छ ।

संघीय सरकारले पहिला जग्गाको अन्तिम निर्कोल लागाउनुपर्नेछ । मुअब्जा पाउने र नपाउने जग्गाको छिनोफानो भए पछि ताल संरक्षण र विकासका अन्य काम अगाडी बढ्न सक्छ । अन्यथा फेवा ताल संरक्षणको वर्षो लामो प्रयास सार्थक हुने छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *