ए डिभिजन लीगमा संकटासँग फ्रेण्ड्स पराजित

हिमालय टिभी
२०७८ मंसिर १० गते १९:०८
ए डिभिजन लीगमा संकटासँग फ्रेण्ड्स पराजित

१० मंसिर २०७८ काठमाडौं । ए डिभिजन लीगअन्तर्गत आजै भएको दोस्रो खेलमा फ्रेन्ड्स क्लबलाई हराउँदै संकटा क्लबले पहिलो जित हात पारेको छ ।

दशरथ रंगशालामा भएको खेलमा १ गोलको अग्रता जोगाउन नसक्दा फ्रेन्ड्स नतिजा सुम्पिन बाध्य भयो । संकटाको जितमा निरज बस्नेत र फोडे फोफानाले गोल गर्दा फ्रेन्ड्सका लागि एकमात्र गोल कप्तान प्रकाश बुढाथोकीले गरेका थिए ।

खेलमा सुरुवाती अग्रता भने फ्रेन्ड्सले लिएको थियो । ४२ औं मिनेटमा कप्तान प्रकाश बुढाथोकीले गोल गर्दै फ्रेन्ड्सलाई पहिलो हाफमा अग्रता दिलाए । १ गोलले पछि परेको संकटा दोस्रो हाफमा खेलमा फर्कियो । ५७ औं मिनेटमा सुभास गुरुङको कर्नरमा संकटाका निरजले गोल गर्दै खेल बराबरी गरे ।

पटक पटक गोलको मौका गुमाएका संकटाका फोडेले निर्धारित समय सकिन ३ मिनेट बाँकी रहँदा गोल गर्दै संकटाको जित सुनिश्चित गरे । पेनाल्टी बक्समा उत्कृष्ट खेल कौशल देखाउँदै फोडेले बाँया खुट्टाबाट प्रहार गरेको हाफ भली फ्रेन्ड्सका गोलरक्षकले बचाउन सकेनन् । बाँकी समयमा फ्रेन्ड्सले दुईवटा राम्रो मौका खेल फाल्दा खेल गुमाउन पुग्यो ।

पहिलो खेलमा हिमालयन शेर्पा क्लबसँग १–१ गोलको बराबरी खेलेको संकटाले जितसँगै ४ अंक जोडेको छ । फ्रेन्ड्सले भने पहिलो खेलमा सातदोबाटोसँग बराबरी खेलेको थियो ।

लिगमा भोलिको पहिलो खेलमा च्यासल युथ क्लब र एपीएफ फुटबल क्लब तथा दोस्रो खेलमा हिमालयन शेर्पा र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *