कांग्रेस महाधिवेशन : कञ्चनपुर सभापति महाधिवेशन प्रतिनिधिमा पराजित

हिमालय टिभी
२०७८ मंसिर ८ गते १४:३०
कांग्रेस महाधिवेशन : कञ्चनपुर सभापति महाधिवेशन प्रतिनिधिमा पराजित

८ मंसिर २०७८ कञ्चनपुर । नेपाली कांग्रेस कञ्चनपुरका पार्टी सभापति हरि बोहरा महाधिवेशन प्रतिनिधिमा पराजित हुनुभएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ बाट बोहरा महाधिवेशन प्रतिनिधिका लागि खुलातर्फ उम्मेदवार हुनुहुन्थ्यो ।

सभापति बोहराले २४४ मत प्राप्त गर्नुभयो । यस्तै पूर्वसांसद बलदेब बोहरा पनि महाधिवेशन प्रतिनिधिमा पराजित हुनुभएको छ । उहाँले १९० मत प्राप्त गर्नुभयो । सो निर्वाचन क्षेत्रमा पुरुषतर्फ १९ उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो । दश जना निर्वाचित भएका छन् । निर्वाचित हुने महाधिवेशन प्रतिनिधिमा बहादुरसिंह थापा, चिन्तामणि भट्ट, हेमराज ओझा, लोकबहादुर देउवा, पुष्करराज ओझा, दलबहादुर बोहरा, मीनबहादुर सिंह, दुर्गादत्त भट्ट, उद्धव बोहरा र टीकाराम बैज छन् । क्षेत्र नं २ मा कूल ५०४ मत खसेको थियो ।

यसैगरी कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ बाट पुरुष खुलातर्फ महाधिवेशन प्रतिनिधिमा यज्ञराज जोशी, खगेश्वर बोहरा, बेलबहादुर रानामगर, प्रकाश थापा, दीपक सिंह, पदम बोगटी, आसेफ कुवँर (भुन्टु), तारणीदत्त चटौत, जङ्गबहादुर चन्द र बीरबहादुर सुनार निर्वाचित भएका छन् । सो क्षेत्रमा पुरुष खुलातर्फ ३२ जना महाधिवेशन प्रतिनिधिका लागि चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।

क्षेत्र नं २ को सभापतिमा लालबहादुर सिंह विजयी हुनुभएको छ । उहाँले आफ्ना निकटतम प्रतिद्वन्द्वी नवराज जोशीलाई १८४ मत अन्तरले पराजित गर्नुभएको हो । सिंहले ३४१ तथा जोशीले १५७ मत प्राप्त गर्नुभयो । सचिवमा गणेशबहादुर विष्ट ३५० र थानेश्वरप्रसाद भट्ट ३३१ मतसहित निर्वाचित हुनुभयो । यसअघि निर्वाचन क्षेत्र नं ३ को सभापतिमा भने केशवहादुर चन्द निर्वाचित हुनुभएको थियो । चन्दले ३३० तथा उहाँका निकटतम प्रतिद्वन्द्वी गणेश नेगीले १९३ मत प्राप्त गर्नुभएको थियो । सचिवमा उमेशप्रसाद जोशी र गङ्गादत्त भट्ट तथा सहसचिवमा अर्जुन भट्ट र खड्कबहादुर बस्नेत निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *