पर्सि आइतबारदेखि मात्रै मौसम खुल्न थाल्ने, यस्तो रहनेछ आज र भोलिको मौसम

हिमालय टिभी
२०७८ मंसिर ३ गते ९:४७
पर्सि आइतबारदेखि मात्रै मौसम खुल्न थाल्ने, यस्तो रहनेछ आज र भोलिको मौसम

३ मंसिर २०७८ काठमाडौं । पर्सि आइतबारदेखि मात्रै मौसम खुल्न थाल्ने मौसमविद्ले बताएका छन् । अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभावले हिजोदेखि नै देशका धेरै ठाउँको मौसम बदली भएको छ ।

यो क्रम आज र भोलि पनि चल्ने मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार आज र भोलि उच्च पहाडी तथा हिमाली भेगमा हिमपात पनि हुनेछ ।

तर पहाडी क्षेत्रको एकदुई स्थानमा फाट्टफुट्ट वर्षा भएपनि ठूलो पानी पर्ने सम्भावना भने कतै पनि नरहेको उहाँको भनाइ छ । हिमपात भएसँगै अधिकतम तापक्रम पनि घट्नेछ । मौसमविद् सापकोटाका अनुसार आज दिउँसोदेशका धेरै जसो ठाउँमा बादल लाग्नेछ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमती प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।बाग्मती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा र बाँकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक÷दुई स्थानहरुमा हल्का हिमपातको सम्भावान छ ।

यसैगरी राति उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावान रहेको महाशाखाले जनाएको छ । यसैगरी भोलि दिउँसो र राति पनि उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

अहिले बदली र हिमपात गराइरहेको प्रणाली कमजोर हुँदै गएकाले पर्सिदेखि भने विस्तारै मौसम खुल्न थाल्ने मौसमविद् सापकोटाले बताउनुभयो । मौसम बदली हुँदा तुवाँलो पनि बढ्ने भएकाले यात्रा गर्दा ख्याल गर्न उहाँले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *