समाज

हातहतियार उत्पादन हुने फलामखानीको संरक्षण नहुँदा….(भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक २२ गते १८:४४
हातहतियार उत्पादन हुने फलामखानीको संरक्षण नहुँदा….(भिडियो रिपोर्टसहित)

२२ कात्तिक २०७८ पाल्पा । नेपाल एकीकरण अघि पाल्पा शक्तिशाली राज्यमध्ये एक थियो । युद्धका निम्ति चाहिने हातहतियारमा पाल्पा राज्य आत्मनिर्भर रहेको ऐतिहासिक दस्तावेजमा उल्लेख छ ।

सेनकालीन समयमा हातहतियार उत्पादन हुने फलामखानीको भग्नावशेष तानसेन नगरपालिकाको छापमा अझै छ । तर त्यसको उत्खनन र संरक्षणमा भने कसैको ध्यान गएको छैन ।

कच्चा पदार्थ प्रशोधनबाट निस्केको फलामजन्य फोहोरका कारण तानसेन नगरपालिका वडा नम्बर ८ छापमा खेती गर्न निकै समस्या थियो । बर्सेनि खनजोतमा समस्या भएकाले मेलापात गर्न अरु मानिसहरु आउन दुःख मान्ने गरेका थिए । छापको डाँडादेखि करिब दुई सय मिटर तल्लोभागको भिरालो जमिनमा खानी छ । त्यसको असर अहिले पनि अन्नबाली उत्पादनमा देखिएको छ ।

खानीसम्म पुग्न सडकको सहज पहुँच छैन । छापका बासिन्दा हिँड्ने गोरेटो बाटोदेखि करिब १० मिटर माथि खानी छ । जंगलको बीच भागमा रहेको खानीको प्रवेशद्वार साँघुरो भए पनि भित्र निकै फराकिलो छ ।

नेपाल एकीकरणको समयमा सेनकालिन पाल्पा राज्य शक्तिशाली थियो । सेनकालिन राज्यलाई चाहिने हातहतियार छापमा उत्पादन हुँदै आएको थियो ।

त्यहाँका विश्वकर्मा जातिले उत्पादन गरेका हतियार युद्धका निम्ति सैनिकलाई हस्तान्तरण गरेको इतिहास छ । सेनकालिन फलाम खानी उद्योगको उत्खनन हुनुपर्ने स्थानीयबासिन्दाको माग छ ।

खानी आसपासका क्षेत्रमा फलामको काम गर्ने विश्वकर्मा जाति र गोलान्दारको बस्ती छ । उनीहरुले यस क्षेत्रको खानी वा हातहतियार उत्पादन सहजीकरण गर्न आएको हुन सक्ने विज्ञहरुको भनाई छ ।

खानीलाई उत्खनन गरी पुन प्रयोगमा ल्याउन सकेमा राज्यको अर्थतन्त्र नै बलियो हुन्छ । खानी सञ्चालनमा आएमा स्थानीयबासिन्दाले रोजगारी पाउने सम्भावना रहेपनि राज्यको ध्यान अझै पुग्न सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *