प्रदेशसभाको बैठक कात्तिक २२ गते, मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिनुहुने

हिमालय टिभी
२०७८ कार्तिक १६ गते १८:११
प्रदेशसभाको बैठक कात्तिक २२ गते, मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिनुहुने

१६ कात्तिक २०७८ हेटौंडा । बागमती प्रदेशसभा बैठक यही कात्तिक २२ गते बस्ने भएको छ ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले कात्तिक १० गते राजीनामा दिएसँगै स्थगित भएको प्रदेशसभाको बैठक कात्तिक २२ गते बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

उक्त बैठकमा नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत लिनुहुने भएको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिनुभयो । उहाँका अनुसार, मुख्यमन्त्री पाण्डेको विश्वासको मतसम्बन्धी प्रस्ताव संसद् सचिवालयमा आइतबार नै दर्ता भइसकेको छ ।

मुख्यमन्त्री कार्यालयबाट प्राप्त मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावको पत्रमा कात्तिक १२ गते उल्लेख गरिएको भए पनि संसद् सचिवालयमा कात्तिक १४ गते मात्रै दर्ता भएको प्रवक्ता अमात्यले बताउनुभयो ।

सरकारको नेतृत्व गरेको ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । सोहीअनुरुप मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिनुहुने भएको हो । मुख्यमन्त्री पाण्डे यही कात्तिक ११ गते नेपालको संविधानको धारा १८८ को उपधारा २ अनुसार माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको समर्थनमा नेकपा एकीकृत समाजवादीका तर्फबाट मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।

बागमती प्रदेशसभामा हाल १०९ सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *