बाढीपीडित भन्छन्– ‘चामल नदेऊ, धानखेत बनाइदेऊ’

हिमालय टिभी
२०७८ कार्तिक १४ गते ८:३४
बाढीपीडित भन्छन्– ‘चामल नदेऊ, धानखेत बनाइदेऊ’

१४ कात्तिक २०७८ कर्णाली । सधैँझैँ खेतमा पुगेर मार्सी धान भण्डारण गर्ने जुम्ला तिला गाउँपालिका–४ का स्थानीय किसान मुखको गाँस खोसिँदा निराशामा छन् ।

यही असोज ३१ देखि कात्तिक १ गतेसम्म परेको अविरल वर्षाका कारण कात्तिक २ गते राति आएको बाढीले धानखेत बगर बनेपछि उनीहरुको कमाइखाने आधार सकिएको छ ।

विगतका वर्षहभन्दा यस वर्ष किसानको धान निकै राम्रोसँग फलेको थियो । उनीहरु कात्तिक २ गते काट्ने तयारी गर्दै थिए । यद्यपि दसैँका कारण उनीहरुले धानबाली भण्डारण गर्न पाएका थिएनन् । दुर्भाग्यः एक दिनको पर्खाइले उनीहरुको जीउने आधार बगर बन्न पुग्यो । पसिना बगाएर फलाएको अन्नबाली बाढीले बगाउँदा अहिले त्यहाँका किसान भोकमरीको चिन्ताले पिरोलिन थालेका छन् ।

तिला–४ जुम्ला साँपुल्लीगाउँका पशुपति शाहीलाई दसैँको खुशी प्राकृतिक विपत्तिले राम्रैसँग लुटेको दुखेसो पोख्नुभयो । उहाँले भन्नुभयो, “दसैं मनाएलगत्तै धान भण्डारण गर्ने योजनामा थियौँ । तर विपत्तिले हाम्रो श्रम, मेहेनत र पसिना सबै बगायो । एक दिनको पर्खाइले पुर्पुरोमा हात लगाउनुपर्ला भन्ने कुनै कल्पना गरेका थिएनौँ । अहिले त हामी सुकुम्बासीजस्तै भएका छौँ ।”

बाढीले अन्न उत्पादन गर्ने धानखेत बगर बनेको दुःख पोख्दै उहाँले सरकारले दुई कट्टा चामल दिनुभन्दा धानखेत बनाउन सहयोग पु¥याए दीर्घकालीन समस्या समाधान हुने बताउनुभयो । सोही वडाका बाढीपीडित पद्मकौंरा शाहीले यति भयानक विपत्तिमा पनि सङ्घ र प्रदेश सरकार बेवास्ताग्रही रहेको दुखेसो पोख्नुभयो ।

“जनताको दुःखको बेला दुःख बुझ्न नआउने जनप्रतिनिधि र सरकार चुनावताका खेत–खेतमा धान रोप्न सहयोग गरेजस्तो गर्दै भोट माग्न आउँछन्”, शाहीले भन्नुभयो, “यो त उनीहरु सबैको झुठको खेती रहेछ । कहिले घर त कहिले खेतमा आउनेको अनुहार र व्यवहार राम्रैसँग चिनियो ।”

बाढीपीडित हाँसु सुनारले आफ्नो धानखेतको कुनै अवशेष नरहेको जनाउनुभयो । धानखेतमा बाढीले ल्याएको दाउरा सङ्कलन गर्नेबाहेक अरु सबै गुमेको सुनारले दुखेसो पोख्नुभयो । बाढीले दलित तथा गरिबहरुलाई ठूलो समस्या परेको छ । प्राकृतिक विपत्तिले रु एक अर्ब बराबरको क्षति भएको विषयमा गाउँपालिका, जिल्ला विपद् व्यवस्थापन समिति हुँदै प्रदेश तथा सङ्घ सरकारसँग तत्काल राहत र दीर्घकालीन जीविकोपार्जनका कार्यक्रमका लागि अनुरोध गरिएको वडाध्यक्ष सन्तबहादुर शाहीले जानकारी दिनुभयो ।

बाढीले झोलुङ्गे तथा काठे पुलहरु बगाइदिएपछि तिला गाउँपालिका–४ जुम्लास्थित नुवाकोट, रावतवाडा र साँपुल्ली गाउँका स्थानीयवासीलाई आवागमनमा ठूलो समस्या भएको छ । रावतवाडा गाउँका नागरिक पुल नहुँदा पाँच मिनेटमा पुग्न ठाउँ अहिले करिब दुई घण्टा पैदल हिँड्नुपरेको छ । बाढीपश्चात आजभोलि त्यहाँका बासिन्दा धमिलो नदीको पानी खान बाध्य छन् ।

विद्युत् नहुँदा तिला तथा तातोपानी गाउँपालिका–४ जुम्लाका स्थानीय समुदाय अन्धकारमा रात बिताउँदै आएका छन् । कात्तिक २ गते रातिको बाढीले यहाँ चारवटा विद्युत्गृह ध्वस्त बनाएको थियो । सिँचाइ कार्यालय जुम्लाका प्रमुख अनुप श्रेष्ठका अनुसार बाढीले तातोपानी गाउँपालिका–४ गिरीखोला जुम्लाको सिँचाइ क्षेत्रमा मात्र रु १५ करोड क्षति पु¥याएको छ ।

बाढीले यहाँका घर, विद्यालय, विद्युत्, स्याउ बगैँचा, दर्जनौँ काठका पुल, खानेपानी परियोजना, स्थानीय घट्ट र विशेषगरी चार हजार रोपनीभन्दा बढी धान खेतीयोग्य भूमि बगर बनाएको छ । धेरै किसान सुकुम्बासी हुनुपर्ने समस्या आइलागेको छ । तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले घरसहित करेसाबारी क्षति भएकालाई रु आठ लाख ५० हजार र घर क्षति मात्र भएकालाई रु पाँच लाख दिने सरकारले निर्णय गरेको जनाउनुभयो । धानखेती क्षतिको यकिन विवरणलाई आधार मानी बाढीले ढाकेको र बगर बनाएको अवस्थाअनुसार किसानलाई राहत वितरण तथा क्षतिपूर्ति न्यायायिक ढङ्गले गरिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *