नेकपा एकीकृत समाजवादीका नेता पाण्डे आज बागमतीको मुख्यमन्त्री बन्दै

११ कात्तिक २०७८ हेटौंडा । नेकपा (एकीकृत समाजवादी)का बागमती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डे आज मुख्य मन्त्री बन्नु हुने भएको छ ।
मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि गठबन्धनको तर्फबाट पाण्डेले हिजो नै दाबी गर्नुभएको छ । उहाँले दिउँसो सवा तीन बजे सपथ लिने कार्यक्रम छ ।
पाण्डेले प्रदेशका ५९ सांसदको हस्ताक्षर प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष बुझाउनुभएको छ । गठबन्धनमा रहेका माओवादी केन्द्रका २३, कांग्रेसका २२, नेकपा एकीकृत समाजवादीका १३ र जसपाका १ गरी ५९ सांसदले पाण्डेलाई समर्थन गरेका छन् । १ सय ९ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५५ सांसदको समर्थन चाहिन्छ ।
यसअघि १३ जना प्रदेश सभा सदस्यले एकीकृत समाजवादी रोजेसँगै एमाले सभामुखसहित ४३ सदस्यमा सीमित बनेपछि मुख्यमन्त्री शाक्यले बहुमत गुमाउनुभएको थियो ।
पाण्डेले आजै सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ । आज नेपाली कांग्रेसका उपनेता कृष्णलाल भडेल, नेकपा माओवादी केन्द्रका उपनेता कुमारी मोक्तान र समाजवादीका उपनेता कृष्ण खनाललाई सहभागी गराएर मन्त्रिपरिषद् विस्तारको तयारी गर्नु भएको हो ।
यसअघि आफूले राखेको विश्वासको मत लिने प्रस्तावमा मत विभाजन हुने दिन प्रदेश सभा बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले राजीनामाको घोषणा गर्नुभएको थियो ।
भदौ २ गते मुख्यमन्त्रीमा नियुक्त भएकी उहाँले राजीनामा दिएपछि बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले आज दिउँसो ३ बजेसम्म मुख्यमन्त्रीमा दावी गर्न आह्वान गर्नुभएको थियो ।
प्रतिक्रिया