समाज

समयमा सही सूचना किसानसम्म पुग्न नसक्दा धानबालीमा बढी क्षति (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक ८ गते १४:४३
समयमा सही सूचना किसानसम्म पुग्न नसक्दा धानबालीमा बढी क्षति (भिडियो रिपोर्टसहित)

८ कात्तिक २०७८ बाँके । कात्तिक महिनामा भीषण वर्षा भएर बाढी आउन सक्छ भन्ने सूचना समयमै थाहा नपाउँदा बाँके, बर्दिया लगायत देशैभरका किसानहरुले धानबालीमा ठूलो क्षति व्यहोर्नुपर्‍यो । तर मौसम विभागले भने वर्षाको पूर्वानुमान गरेर सूचना जारी गरेको थियो ।

जल तथा मौसम विज्ञान विभागले वर्षा हुनुभन्दा तीन दिनअघि अर्थात् असोज २८ गते नै सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षा हुन सक्ने अनुमान गर्दै सूचना जारी गरेको थियो । विभागले २८ गते जारी गरेको सूचना ३१ गते बिहानसम्म पनि किसानहरुले थाहा पाएनन् ।

वर्षा भई बाढी आउन सक्छ भन्ने जानकारी नपाएर वा पानी पर्दैछ भन्ने सुनेर पनि बेवास्ता गरी किसानहरुले ३१ गते बिहानसम्म धान काटे । तर दिउँसोपखबाट लगातार भएको वर्षाले धान खेतमै डुब्यो । १ र २ गते आएको बाढीले बगाइदियो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको नेपाल कृषि अनसुन्धान परिषद् र राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले किसानलाई मौसमबारे सूचना दिन्छन् ।

तर यी निकायले प्रभावकारी रुपमा समयमै सूचना दिन नसक्दा किसानहरु ठूलो क्षति ब्यर्होन बाध्य भए । कात्तिक महिनामा पानी परेर बाढी नै आउला भन्ने अनुमानसमेत नगर्दा लाखौँ हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली नष्ट भयो ।

जल तथा मौसम विज्ञान विभागले वर्षा सुरु हुनुभन्दा ३ दिन पहिलेनै पूर्वानुमान गरेर वर्षा हुने जानकारी गराए पनि कृषि मन्त्रालय र त्यसअन्तर्गतका कार्यालयले समयमै किसानसम्म सूचना पुर्‍याएनन् ।

जल तथा मौसम विज्ञान कार्यालयले जारी गरेको मौसमी सूचना समयमै किसान सम्म पुराउने च्यानल कृषि ज्ञान केन्द्रसँग छैन ।

वर्षा र बाढीका कारण बाँकेमा मात्रै ९ हजार १ सय ५० हेक्टरमा काटिसकेको धान र १० हजार हेक्टरमा पाकेर भित्र्याउने तयारीमा रहेको धानमा हावा हुरी, वर्षा र डुवानले क्षति पुर्‍यााएको छ ।

यस्तै बर्दियामा वर्षा र बाढीका कारण १० हजार हेक्टर काटिसकेको र २५ हजार २ सय हेक्टर खडा धान नोक्सान भएको छ । सरोकारवाला निकायलै मौसमबारे समयमै प्रभावकारी सूचना प्रवाह गर्ने र किसानहरुले मौसमसम्बन्धी जानकारी राखेर खेतबारीको काम गर्न थाल्ने हो भने धेरै हदसम्म क्षति न्यूनीकरण गर्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *