समाज

जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायको संख्या किन घट्दो ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक १ गते ७:३८
जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायको संख्या किन घट्दो ? (भिडियो रिपोर्टसहित)

१ कात्तिक २०७८ सुर्खेत । जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका राउटेको संख्या घट्दै गएको छ । मदिराको अत्यधिक प्रयोग, परम्परागत जीवनशैली, बिरामी हुँदा घरेलु उपचार पद्धति, असन्तुलित खानपिन र संस्कृतिमा बाह्य प्रभावका कारण राउटेको संख्या घट्दै गएको हो ।

राष्ट्रिय जनगणना २०७८ का लागि राष्ट्रिय जनगणना कार्यालय सल्यानले गरेको घरधुरी तथा घरपरिवार सर्वेक्षणका क्रममा राउटे समुदायमा ४२ घरधुरी रहेको पाइएको छ । जसमा महिला ७४ जना र पुरुष ६६ जना गरेर १ सय ४० जना रहेका छन् ।

राउटे समुदायमा पनि कल्याण, रासकोटी र समाल गरेर तीन जाति छन् । तत्कालीन जिल्ला विकास समिति दैलेखले २०६३ सालमा गरेको गणना अनुसार राउटेको संख्या १ सय ६० रहेको थियो । तर अस्वस्थ्य खानपान, जीवनशैली र मदिराप्रतिको मोहका कारण राउटेको जनसंख्या घटेको छ । राउटे समुदाय आफै भने जनसंख्या यकिन तथ्यांक दिन चाहँदैन ।

राउटे समुदायका अधिकांश बालबालिकामा कुषोषणको समस्या देखिएको छ । सानो उमेरमा नै मदिराको लत, लगातारको बसाइसराई, असन्तुलित खानपान र परम्परागत जीवनशैलीको असर राउटे समुदायका बालबालिकामा परेको छ । राउने बस्तीमा विभिन्न समयमा गरिने स्वास्थ्य जाँचका क्रममा पोषणको कमी, छाला सम्बन्धि चिलाउने रोग, खोकी, ज्वरो लगाएतका समस्या भेटिने गरेका छन् ।

समुदायबाट अलग्गै बस्ने र जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएकामा आधुनिकताले राउटेलाई सताएको छ । काठका विभिन्न सामग्री बनाएर जीविका चलाउनु र जङ्गलका कन्दमूल तथा विभिन्न जडिबुटी खाएर जीवनयापन गर्नु राउटेको जीवनशैली हो । पैसा छोए पाप लाग्छ भन्ने सोच राख्ने उनीहरु प्रकृतिमै रमाउन चाहन्छन् । त्यसैले गर्दा बिरामी पर्दा अझै पनि उनीहरु जडिबुटीके भर पर्छन् ।

बाह्रैमास घलेकको भरमा आधा जीउ ढाक्ने राउटेलाई पछिल्ला केही वर्षयता गर्मी र जाडो दुबैले उत्तिकै सताउन थालेको छ । राउटेले चिसोमा ह्वात्तै चिसो, गर्मीमा ह्वात्तै गर्मीको महशुस गर्ने गरेका छन । राउटे समुदायलाई विभिन्न निकायले प्रदान गरेको सामग्रीहरु विक्री गरेर मदिरा सेवनमा खर्च गर्दा थप समस्या आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *