देउवा फेरि असफल बन्ने दिशामा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज ११ गते २०:५६
देउवा फेरि असफल बन्ने दिशामा (भिडियो रिपोर्टसहित)

११ असोज २०७८ काठमाडौं । केपी शर्मा ओलीलाई विस्थापित गर्दै प्रधानमन्त्री बनेको साढे दुई महिना बित्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार विस्तार गर्न सक्नुभएको छैन ।

यो अवधिमा देउवा सरकारको गति हेर्दा पाँचौपटकको प्रधानमन्त्रीत्व पनि देउवालाई असक्षम र असफलसँगै निष्काम प्रमाणित गर्न काफी हुने छाँट देखिएको हो ।

कांग्रेस नेता तथा संघीय प्रतिनिधिसभाका सांसद डाक्टर मीनेन्द्र रिजालले सरकार कसरी संचालन हुन्छ हेर्न भनेर दिएको चुनौतिसमेत व्यङ्ग्यको मसला बनेको छ । जनताका समस्यामा सिन्को नभाँचेको सरकार गठबन्धनको भागबण्डाको हिसाब गरेर दिन काटिरहेको छ ।

विपक्षी दलले परमादेशको सरकार भन्ने गरेको देउवा नेतृत्वको सरकार कृष्णसारझैँ दौडिनुपर्ने अपेक्षा र शुभेच्छा थियो । तर सरकार भने कछुवा गतिबाट अब कुम्भकर्णको मतितिर ओरालो लागेको छ । असार २९ गते प्रधानमन्त्री बनेर बालुवाटार प्रवेश गर्नुभएका देउवाले साढे दुईमहिनासम्म राज्यको ढुकुटीमा तर मार्ने र अढाइ महिनासम्म पनि मन्त्रिपरिषद विस्तार गर्न नसकेर रेकर्ड बनाउँदै हुनुहुन्छ । १७ मन्त्रालयको एक्लै भार बोक्न नसकेर प्रधानमन्त्री देउवा निकृष्य जस्तो देखिनु भएको छ ।

कोभिड–१९ महामारीले गिजोलिएको अर्थतन्त्र माथि उठ्न सकेको छैन । देउवाकै पालामा पहिलो पटक देशमा बजेट होलिडेको अवस्था सिर्जना भयो । गठबन्धनको भार र दन्तबझानले विपक्षीसँग सामान्य संवाद समेत गर्न असफल देउवा सरकारले संसद खुलाउन समेत सकेन ।

अति आवश्यक कानून निर्माणलाई प्राथमिकतामा राख्न नसकेको सरकारलाई जनतालाई चाडवाडमा राहत दिनुपर्छ भन्नेसमेत हेक्का छैन,बरु व्यापारीको प्रस्तावमा मूल्यवृद्धि गरेर बसेको छ । वैदेशिक सम्बन्धले गति लिन सकिरहेको छैन ।

बाढीजन्य प्रकोपमा परेका पीडितहरुको घाउमा मल्हम लगाउन छाडेर अघिल्ला सरकारको नियुक्ति उल्टाएर धमाधम कार्यकर्तालाई पोस्न भने सरकार तल्लीन छ। सरकारको प्राथमिकता भने जनताका समस्यातिर भन्दा पनि कालो धनको व्यवस्थापन तिर देखिएको प्रमुख प्रतिपक्षी दलको आरोप छ ।

असंसदीय आचरण देखाएका ओलीलाई सरकारबाट हटाउन एक ठाउँमा उभिएका दलहरु सरकारको असफलतामा एकअर्कोलाई दोष दिन थालेका छन् । त्यसैका कारण गठबन्धनभित्रै किचलो सुरु हुन लागेको छ।

ओली सरकारको अकर्मण्यतालाई तोड्नुपर्ने जिम्मेवारी बोकेको सरकारका प्रधानमन्त्री देउवा कुहिकाको काग जस्तो देखिन थाल्नु भएको छ ।आफ्ना केही आसेपासेलाई नियुक्ति दिने र राज्य शक्तिको दुरुपयोग गरेर पार्टीका स्थानीय संरचनामा कब्जा गर्नु नै प्रधानमन्त्रीको दैनिकी भएको छ। पाँचौपटक मौका पाएका देउवाले कम्तिमा पनि ओली सरकारको दुर्गतीलाई बदल्न त सक्नुभएन नै, आफैलाई पुनः पूर्ण असक्षम भने प्रमाणित गर्नुभएको छ।

भिडियो रिपोर्ट हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *