सेवाग्राहीका गुनासो : ‘घरी कोठा नम्बर ३, घरी ४’

हिमालय टिभी
२०७८ असोज ११ गते ७:५०
सेवाग्राहीका गुनासो : ‘घरी कोठा नम्बर ३, घरी ४’

११ असोज २०७८ रौतहट । “चार दिनदेखि धाइरहेको छु । मेरो फाइल भेटिएको छैन ।” श्रीमती रविना कुमारीको नागरिकता पाउन प्रयासरत रौतहटको इसनाथ नगरपालिका–३ का मुकेश हजाराले नागरिकता कहिले हात पर्ला भन्ने पत्तो नभएको गुनासो व्यक्तभयो ।

सदरमुकाम गौरस्थित जिल्ला प्रशासन कार्यालयमा देखिएका सयौँ सेवाग्राहीको भीडमा भेटिएका हजाराको मात्र होइन अन्य सेवाग्राही पनि उही गुनासो रासससँग पोख्दै हुनुहुन्थ्यो ।

सोही नगरपालिका–२ का शीलाकुमारी पनि बच्चा बोकेर नागरिकता पाउन दैनिक धाइरहनुभएको छ । कर्मचारीले घरी कोठा नम्बर ३ त घरी कोठा नम्बर ४ मा जानुस् भनेर अल्मल्याइरहेको उहाँको दुःखेसो छ । राजदेवी नगरपालिका–५ का दिलीपकुमार महतोको दुई सातादेखिको नियमित काम जिल्ला प्रशासन कार्यालयमा आउनुभएको छ । आफ्नो नागरिकता के कारणले प्राप्त नभएको भन्ने थाहा पाउन नसकिएको उहाँको भनाइ छ ।

जिल्ला सदरमुकाम गौरस्थित जिप्रकामा नागरिकता लिनका लागि दैनिक सयौँको लाइन हुने गरेको छ । प्रचण्ड गर्मी र कोभिड–१९ को जोखिमबीच सर्वसाधारण बिना मास्क तथा सामाजिक दूरी कायम नगरी नागरिकताको फाँटमा झुम्मिरहेका देखिन्छन् । साना साना नानीहरु काखमा बोकेका महिला पनि सकिनसकी लाइनमा उभिएका छन् । पहुँच हुनेले सहजै नागरिकता पाउने गरेको सेवाग्राहीको आरोप छ ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने कार्यालयको क्षमताभन्दा दोब्बर सङ्ख्यामा नागरिकता जारी भइरहेको जिकिर गर्नुभयो । नागरिकता फाँटमा दुई जना मात्र जनशक्ति रहेका अवस्थामा दैनिक ६० नागरिकता दिन सकिने स्थितिमा एक सय ३० सम्म नागरिकता वितरण भइरहेको उहाँको भनाइ छ ।

सेवाग्राहीसँग कर्मचारीले घुस लिएको भन्ने गुनासो हुन नसक्ने जनाउँदै उहाँले स्थानीय तहले अनुसूचीअनुसारका सबै कागजातसहित सिफारिस नगर्दा पनि समयमा काम हुन नसक्ने बताउनुभयो । कूल ३२ कर्मचारीको दरबन्दी रहेको यस कार्यालयमा हाल २५ कार्यरत छन् । त्यसो त यो जिल्ला प्रशासन कार्यालय गृहमन्त्रालयको वार्षिक कार्यसम्पादन मूल्याकङ्नमा प्रदेश नं २ मा उत्कृष्टमा परेको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार यस आर्थिक वर्षको साउन र भदौ महिनामा चार हजार ९२२ ले नयाँ नागरिकता लिएका छन् भने एक हजार ६५८ ले प्रतिलिपि नागरिकता लिएका छन् । यस्तै सोही अवधिमा दुई हजार ३१८ ले राष्ट्रिय परिचयपत्र, एक हजार ४३६ ले राहदानीको सिफारिस, ४७६ ले दु्रत राहदानी सिफारिस लगेका छन् । सिफारिस भएकामध्ये चार सय ७६ राहदानी वितरण भएको छ । उक्त दुई महिनामा १५ नयाँ संस्था दर्ता र ९२ संस्थाले नवीकरण गराएका छन् ।

वंशजका आधारमा नागरिकता पाउन अनुसूची १ फारममा स्थानीय तहको सिफारिस, बाबु वा आमाको नागरिकता प्रमाणपत्र, सो नभए दाजु, भाइ वा वंशज खुल्ने नजिकको नातेदारको नागरिकताको प्रतिलिपि, सो पनि नभए वंशज खुल्ने अन्य प्रमाण र सनाखत आवश्यक पर्छ । यस्तै तिन पुस्ताभित्रको नातेदारको नागरिकताको प्रमाणपत्र पेश गरेको अवस्थामा उक्त नातेदारसँगको नाता खुल्ने नाता प्रमाणित–पत्र पेश गर्नुपर्छ ।

प्रमाण पेश गर्न नसक्नेका लागि वंशजको नाताले नागरिकता लिनुपर्दा नागरिकता प्रमाणपत्र विवरण कार्यविधि, २०६३ को अनुसूची ३ बमोजिमको ढाँचामा सर्जमिनस्थलमै गरिएको सनाखत चाहिन्छ । विवाहित महिलाको हकमा पतिको नागरिकता प्रमाणपत्र, माइतीतर्फको वंशज खुल्ने नागरिकता, दुवै कान देखिने दुईप्रति फोटो, विवाह दर्ता प्रमाणपत्र र सनाखतसहित जन्ममिति खुल्ने प्रमाण, शैक्षिक प्रमाणपत्र वा जन्मदर्ताको प्रमाणपत्र बुझाउनुपर्छ ।

बसाइँसराइ गरी आउनेको हकमा उपरोक्त प्रमाणका अतिरिक्त बसाइँसराइ प्रमाणपत्र, जग्गाधनी दर्ता प्रमाणपत्रलगायतका कागजात पेश गर्न जिल्ला प्रशासन कार्यालयको नागरिक बडापत्रमा उल्लेख गरिएको छ । वैवाहिक अङ्गीकृतका आधारमा र कर्मचारी परिवारका नाताले नागरिकता प्रमाणपत्र पाउन आवश्यक कागजात पनि जिल्ला प्रशासन कार्यालयले बेवसाइटमा समेत बडापत्रका रुपमा समावेश गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *