बिस्तारै उठ्दै छ बाढीले बगाएको मनाङ
२ असोज २०७८ मनाङ । हिमाली जिल्ला मनाङ त्यसै पनि विकट छ । त्यसैमा पनि यस वर्ष आएको बाढीपहिराका कारण अझ जोखिम र विकट बनेको छ । देश सङ्घीयतामाा प्रवेश गरेपछि यहाँका स्थानीय तहले चार वर्ष लगाएर बनाएका विकासका संरचना बाढीपहिराले ध्वस्त बनाइदिएको छ ।
मर्स्याङ्दी नदीमा आएको बाढी र पहिराले मनाङको मेरुदण्ड मानिने डुम्रे–बेसीशहर–चामे सडकखण्ड पूर्णरुपमा क्षति पुगेको छ । बाढीपहिराले क्षति पु-याएको तीन महिना पूरा भएपछि अहिले भने एकाध भागमा सवारीसाधन चल्न थालेका छन् । केही ठाउँमा भने सडकको निसाना नै नहुँदा नयाँ ट्रयाक बनाउने काम भइरहेको छ ।
डुम्रे–बेँसीशहर–चामे सडकखण्डअन्तर्गत लमजुङको बेँसीशहरदेखि मनाङको खोत्रोसम्म सवारी सञ्चालन भएको छ तर बीचको १५ किलोमिटर भाग पूर्णरुपमा अझै पनि अवरुद्ध छ । सदरमुकाम चामेमा सवारी सञ्चालन भएको छ भने माथिल्लो मनाङमा पनि सवारी चलेका छन् ।
तल्लो र माथिल्लो मनाङ जोड्ने मनाङ ङिस्याङ गाउँपालिका–१ स्थित तलेखु– भ्राताङ भिरलाई फोडेर नयाँ ट्रयाक निर्माणको काम भइरहेको डुम्रे–बेँसीशहर–चामे सडक योजना कार्यालय लमजुङका प्रमुख अच्युत विलास पन्तले जानकारी दिनुभयो ।
माथिल्लो मनाङ जाने सडकअन्तर्गतको तलेखु–भ्राताङ भिरमा बम ब्लाष्टिङ गर्ने सबै सामग्री उपलब्ध गराउँदै काम पनि भइरहेको उहाँले बताउनुभयो । बेँसीशहर–चामे सडक खण्डको १०७ किलोमिटरमध्ये लमजुङको बेँसीशहरदेखि नासोँ गाउँपालिका–१ खोत्रोसम्मको ३५ किलोमिटर सडक निर्माण भइसकेको छ ।
त्यस्तै चामे गाउँपालिकामा स्थानीयसहितको सहयोगमा पालिकामा पूरै सवारी सञ्चालन भएको उहाँले बताउनुभयो । चाडपर्व नजिकिएसँगै सामग्री ढुवानी, आवतजावतमा सहज बनाउनका लागि सडक मर्मत तथा सम्भारलाई तीव्रता दिइएको उहाँले बताउनुभयो । बाढीपहिराको जोखिममा पनि उत्पादित खाद्यवस्तु बजारसम्म पु-याउनसमेत सहज हुनेछ । बेँसीशहर–चामे–खाङ्सार सडकखण्ड १०७ किलोमिटरमध्ये धेरै स्थानमा बाढीपहिराले क्षति पु-याएको छ ।
सामान ढुवानीमा सहज
सडक सञ्जालबाट विच्छेद भएको मनाङमा सडक बन्न थालेपछि भौतिक संरचना निर्माण छिटो हुन्छ । सडक सहज नहुँदा बाढीपहिराबाट क्षति भएका मनाङका भौतिक संरचना निर्माण हुन सकेको छैन । सडक नबन्दा सामग्री ढुवानीमा समस्या भएको छ । पूर्ण रुपमा सडक सञ्चालनमा आएपछि बाढीपहिराले क्षति पु-याएका भौतिक संरचना निर्माण छिटो हुने बताइएको छ ।
सामग्री ल्याउन सहज भएपछि बाढीपहिराले क्षति पुगेका भौतिक संरचना निर्माणले तीव्रता पाउनेछ । दशैँसम्ममा चामेसम्म सडक सञ्चालन गराउने प्रयासमा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो । सडक सञ्चालन गराउन सके यहाँका सामाजिक तथा व्यक्तिगत भौतिक संरचना निर्माण गर्न सहज हुने उहाँले बताउनुभयो ।
विद्युत् अभावले स्वास्थ्य सेवा प्रवाहमा समस्या
बाढीपहिराको जोखिमयुक्त हिमाली जिल्ला मनाङमा स्वास्थ्य सेवा प्रवाहमा समस्या छ । बाढीपहिराका कारण विद्युत् आपूर्ति अवरुद्ध हुँदा स्वास्थ्य सेवाबाट सर्वसाधारण वञ्चित हुने अवस्था छ । आधारभूत आवश्यकता पूरा गर्न टेवा पु-याउने सौर्य उर्जाले मात्रै धान्न नसक्दा समस्या उत्पन्न भएको हो ।
बाढीपहिराले मनाङमा विद्युत् आपूर्ति हुन नसक्दा स्वास्थ्य सेवा प्रत्यक्ष प्रभाव परेको जिल्ला अस्पतालका जनस्वास्थ्य निरीक्षक रहमत अन्सारीले जानकारी दिनुभयो । “विद्युत् आपूर्ति नहुँदा जेनेरेटरको सयहोग चलाइरहेका छौँ”, उहाँले भन्नुभयो, “जेनेरेटर सञ्चालनका लागि इन्धन आपूर्ति गर्न मुस्किल छ । हेलिकप्टरबाहेक इन्धन ल्याउने अरु विकल्प छैन । यहाँका सर्वसाधारणलाई विद्युत् नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको छ ।”
विद्युत् आपूर्ति सहज नहुँदा सौर्य ऊर्जा र जेनेरेटरले मात्रै धान्न मुस्किल छ । जेनेरेटर चलाउनका लागि सडक सहज नहुँदा तेल अभावले समस्या निम्त्याएको छ ।
जलविद्युत् सञ्चालनका लागि हेलिकप्टरबाट सामग्री
विकट हिमाली जिल्ला मनाङमा बाढीपहिरा गएको तीन महिना पुगेको छ । गत जेठ १४ र असार १ मा आएको बाढीपहिराले मनाङको सडक पूर्णरुपमा अवरुद्ध छ । अवरुद्ध सडक मर्मत तथा सम्भार र निर्माणको काम नभएपछि यातायात, विद्युत्, सञ्चार क्षेत्र पूर्ण रुपमा प्रभावित छन् । लामो समयदेखि सडक सञ्जाल निर्माण नहुँदा दक्षिण कोरियामा रहँदै आएका मनाङको चामेवासी युवाको सहयोगमा हेलिकप्टर चार्टर गरी जलविद्युतका सामग्री ढुवानी गरिएको छ ।
तीन महिनादेखि डुम्रे–बेँसीशहर–चामे सडकखण्ड पूर्णरुपमा अवरुद्ध छ । सडकमार्फत् सवारीसाधन मात्रै नभई बटुवासमेत आवतजावत गर्नसक्ने अवस्थामा छैन । लघु जलविद्युत् आयोजनामा निर्भर मनाङमा अन्धकार हटाउन रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहँदै आएका युवाले सहयोग पु-याएका छन् ।
राष्ट्रिय विद्युत् प्रसारण लाइनसँग जोडिए पनि विद्युत् प्राधिकरणमा बाढीपहिराले क्षति पु-याएको छ । बाढीपहिराले क्षति पु-याएको जलविद्युत् मर्मत तथा सम्भारका लागि हेलिकप्टर चार्टर गरी आवश्यक सामग्री ढुवानी गरिएको हो ।
कर्मचारी काममा फर्कन समस्या
बाढीपहिराको जोखिममा परेको विकट हिमाली जिल्ला मनाङका कर्मचारी कार्यालय फर्कन सकेका छैनन् । आर्थिक वर्षको अन्तिममा काम सकाएर घर बिदा तथा काज जिल्ला बाहिर गएका कर्मचारी फर्किन सकेका छैनन् । बाढीपहिराले बेँसीशहर–चामे सडक अवरुद्ध भएपछि खाद्यान्न तथा अत्यावश्यक सामग्री लिएर आएको हेलिकप्टर फर्किँदा घर गएका कर्मचारी हालसम्म फर्किन सकेका छैनन् ।
घरबाट कार्यालय जान हिँडेका मनाङका कर्मचारी आधा बाटोमा नै अलपत्र परेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो । “बाढीपहिरा र आर्थिक वर्षको अन्तिम काम सकेर घर बिदामा गएका कर्मचारी फर्किन सकेका छैनन् । सबै कर्मचारी घर बिदामा गएका पनि होइनन् । मनाङको सडक अवरुद्ध हुँदा कार्यालयसम्म पुग्न नै सकस भएको छ”, उहाँले भन्नुभयो । बेसीशहर–चामे सडक खण्डको केही भागमा सडकको निसानासमेत बाढीपहिराले बगाएको छ ।
सौर्य ऊर्जाको भर
मनाङ अहिले सौर्य ऊर्जाको भरमा छ । गण्डकी प्रदेश सरकारको सहयोगमा मनाङका सरकारी कार्यालयमा सोलार प्यानल, इन्भर्टर र ब्याट्रीमार्फत सेवा प्रवाह भइरहेको छ । विद्युत् नहुँदा अस्पतालमा उपचार सेवा र सरकारी काम प्रभावित भएकाले सहजताका लागि सौर्य ऊर्जा खरिद गरी पठाएको र सौर्य ऊर्जाको भरमा नै सरकारी कार्यालयहरु सञ्चालन भइरहेको प्रमुख जिल्ला अधिकारी लामिछानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्लाका प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय, प्रहरी कार्यालय लगायतका सरकारी कार्यालयहरुमा सौर्य उर्जा जडान गरिएको छ । सौर्य ऊर्जा जडान गरी सेवा र सूचना प्रवाहलाई प्रभावकारी बनाउन सौर्य ऊर्जा, इन्भर्टर र ब्याट्री पठाएको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पठाउनुभएको थियो । प्रदेश ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले करिब रु १९ लाखको सामान खरिद गरी हेलिकोप्टरमार्फत् चामे पठाएको थियो ।
थोराङ्ला पासबाट खाद्यान्न ढुवानी
हिउँदमा हिमपातले समस्या हुने मनाङले यस पटक वर्षायाममा पनि सङ्कट झेलेको छ । हिउँदताका बाक्लो हिमपात हुँदा चिसो बढ्ने र आवतजावत अवरुद्ध हुने जस्ता समस्या भोग्दै आएको थियो तर हिमाली जिल्ला मनाङले यसवर्ष बाढीपहिराको विपद् खेप्नुपरेको छ ।
पछिल्लो केही दिन वर्षा रोकिँदा थोरै भए पनि राहतको सास फेर्न पाए पनि कुन बेला नदीको बहाव बढेर आउने हो भन्ने चिन्ता छ । जसले गर्दा मनाङवासी त्रासैत्रासमा जीवनयापन गर्न बाध्य भएको स्थानीय बताउँछन् । प्राकृतिक विपद् सामना गर्नुपरेको यो जिल्लाले मनसुनको अझै बाँकी रहेकोले थप पीडा भोग्नुपर्ने हो की भन्ने त्रासमा मनाङवासी छन् ।
बाढीपहिराले विपद्मा परेका मनाङवासीलाई खाद्यान्न अभाव पूर्ति गर्नका लागि थोराङ्ला पास गराएर ल्याउने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताउनुभयो ।
सामग्री ढुवानीमा हेलिकप्टर
लामो समयदेखि सडक सञ्जालको मर्मत तथा सम्भार र निर्माण गर्न नसक्दा सामान ढुवानीमा समस्या भएको छ । हेलिकप्टरबाट मात्रै सामग्री ल्याउन र लैजान सकिने मनाङ पु¥याउन सकिन्छ ।
मनाङमा उत्पादित वस्तु बजारसम्म पु-याउन समस्या हुनुका साथै मर्मतसम्भारका सामग्री ढुवानीमा पनि हेलिकप्टरबाहेक अरु कुनै विकल्प छैन । सामग्रीसहित यहाँ उत्पादित वस्तु बजारमा पु-याउन पनि हेलिकप्टरको प्रयोग गर्नुपर्ने अवस्था रहेको छ ।
हेलिकप्टरबाट बजारमा पु-याएको सामग्री महँगो पर्ने र विदेशबाट आएका सामग्री सस्तो मूल्यमा पाउने देखिएको छ । यसको समाधानका लागि सडक सञ्जाल निर्माणलाई तीव्रता दिनुपर्ने भए पनि सरकारको विभिन्न निकायले ध्यान पु-याउन सकेको छैन ।
प्रतिक्रिया