सर्वसाधारणका लागि आजदेखि खुल्यो मनकामना मन्दिर

हिमालय टिभी
२०७८ भदौ २३ गते १३:२६
सर्वसाधारणका लागि आजदेखि खुल्यो मनकामना मन्दिर

२३ भदौ २०७८ गोरखा । गोरखाको मनकामना मन्दिर आजदेखि खुलेको छ ।

नेपालकै प्रसिद्ध धार्मिक गन्तव्यकामध्येको एक मनकामना मन्दिर पूजाआजाका लागि खुलेको हो । मनकामना क्षेत्र विकास समितिले मन्दिरमा सरकारले तोकेको स्वस्थ्य मापदण्डको पालना गर्ने गरी सर्वसाधारणका लागि पूजाआजा गर्न मन्दिर खोल्ने निर्णय गरेको थियो ।

पुजारी र भक्तजनको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर तत्कालका लागि मन्दिर बाहिरको झ्यालबाट पूजा सामग्री पूजारीलाई दिने गरी व्यवस्था मिलाइएको छ ।

त्यस्तै भाकल बुझाउन आउने भक्तजनका लागि बलि दिने स्थानमा समेत छुट्टै पूजारीको व्यवस्था मिलाइएको छ । चार महिनापछि मन्दिर खुला भएको पहिलो दिनमै सयौं भक्तजन मन्दिर पुगेका छन् ।

मन्दिरमा पुग्ने भक्तजनले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने, सामाजिक दूरी कायम गर्नुपर्नेलगायतका व्यवस्थासमेत गरिएको छ । कोरोना भाइरसको महामारीको जोखिमका कारण गएको वैशाख २३ गतेदेखि मन्दिरमा पूजाआजा गर्न रोक लगाइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *