भरतपुर अस्पतालमा यसरी ठगिन्छन् बीमाका बिरामी

हिमालय टिभी
२०७८ भदौ १३ गते १४:४३
भरतपुर अस्पतालमा यसरी ठगिन्छन् बीमाका बिरामी

१३ भदौ २०७८ चितवन । भरतपुर अस्पतालको स्वास्थ्य बीमा कार्यक्रमका ‘फोकल पर्सन’ नारायण सापकोटा आफैले हेर्ने बीमा कार्यक्रममा ठगिनुभएको छ ।

आफ्नो श्रीमतीको पित्तथैलीको शल्यक्रिया गर्दा बीमामा रु २७ हजार ५०० दाबी गर्नुभयो । त्यसोत अस्पतालमा औषधि नभएपछि रु चार हजारको औषधि बाहिर किन्नुप-यो ।

आम नागरिक झै बीमाबाट रकम काट्ने र छुट्टै औषधि किन्नु पर्दा आफू पनि मर्कामा परेको उहाँले स्वीकार गर्नुभयो । बीमा बोर्डसँग भरतपुर अस्पतालले शल्यक्रियाको औषधि, परीक्षण, श्यया, शल्यक्र्रिया शुल्कलगायत सबैको प्याकेजमा रकम तय भएको छ । अस्पतालले शल्यक्रिया गर्दै गर्दा आफूले सुविधा दिन नसके पनि पूूरै रकम सेवाग्राहीको खाताबाट दाबी गरेर बीमा बोर्डसँग लिने गर्दछ । सापकोटाले भन्नुभयो, “औषधि उपलब्ध गराउने जिम्मा अस्पतालको हो”, दोहोरो खर्च गराउनु गलत भएको भन्दै उहाँले भन्नुभयो ।

बीमाले लगभग ८० प्रतिशत औषधि समेटेको भए पनि अस्पतालले दिन नसकेको उहाँको भनाइ छ । अस्पतालमा औषधि नहुँदा शल्यक्रियासँगै दमका बिरामी, ज्वरोका बिरामी पनि मर्कामा पर्ने गरेको सापकोटाको भनाइ छ । अस्पताल र बीमा बोर्डका बीचमा पित्तथैलीको ल्याबकोली (मेसिनबाट गरिने शल्यक्रिया) गर्दा प्याकेजमा रु २७ हजार ५०० दाबी गर्ने उल्लेख छ भने चिरेर शल्यक्रिया गर्दा रु १८ हजार उल्लेख छ ।

त्यस्तै एपेन्डिसाइडको रु १५ हजार ५०० रहेको छ । सापकोटाको भनाइमा सबै शल्यक्रियाको दररेट छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा रोशन न्यौपाने अस्पतालमा अधिकांश औषधि आपूर्ति गराउन आफूहरु लागि परेको बताउनुहुन्छ । औषधि दिन नसकेको उहाँले स्वीकार गर्नुभयो । प्रत्यक्ष रुपमा बिरामी प्रभावित भएको विषयमा थप बुझ्ने न्यौपानेको भनाइ छ ।

बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौला औषधि उपलब्ध नगराएर रकम दाबी गर्न नपाउने बताउनुहुन्छ । यस विषयमा प्रत्यक्ष रुपमा अस्पतालमा कर्मचारी पठाएर बुझ्ने उहाँको भनाइ छ । सरकारी अस्पतालले राम्रो गर्छन् भन्ने उद्देश्यका साथ बीमा कार्यक्रमको पहिलो विन्दु सरकारी अस्पताल बनाइएको भन्दै उहाँले बिरामी र बोर्ड कोही पनि ठगिन नहुने बताउनुभयो ।

भरतपुर अस्पताल यस क्षेत्रमा बीमामा धेरै दाबी गर्ने अस्पताल पर्दछ । यस अस्पतालले मासिक रु दुई करोड भन्दा बढी बीमाबाट रकम दाबी गर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *