समाज

खेतीयोग्य जमिन खण्डीकरण : ६०–४० को भागबन्डा गरी यसरी धमाधम प्लटिङ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ १२ गते १३:५५
खेतीयोग्य जमिन खण्डीकरण : ६०–४० को भागबन्डा गरी यसरी धमाधम प्लटिङ (भिडियो रिपोर्टसहित)

१२ भदौ २०७८ दाङ । दाङमा खेतीयोग्य जमिनलाई उपमहानगरपालिको मापदण्ड विपरीत खण्डीकरण गरी धमाधम घडेरी र घर बनाइँदैछ । जग्गा धनी र जग्गाको कारोबार गर्ने दलालले ६०–४० को भागबन्डा गरी खेतीयोग्य जमिनलाई धमाधम प्लटिङ गरेर महँगोमा बेचबिखन गरिरहेका हुन् ।

दाङको घोराही उपमहानगरपालिका वडा नम्वर १६ रतनपुरमा केही वर्षअघिसम्म कुनै पनि घर थिएनन् । सबै जग्गामा खेती गरिँदै आएको थियो । पछिल्लो समय जग्गा धनी र जग्गा दलालको मिलेमतोमा जग्गालाई खण्डीकरण गरी घडेरीका रुपमा महंगोमा बेचबिखन गरियो । अहिले यहाँ बाक्लो बस्ती नै बसेको छ ।

घोराही उपमहानरपालिका वडा नम्वर १३ डुम्मर गाउँ आसपासमा पनि खेती गरिरहेको जग्गालाई मासेर घडेरी बनाइएपछि अहिले पनि बस्ती बाक्लिँदै गएको छ । जग्गा दलालले, जग्गा धनीसँग मिलेर ६०–४० को भागबन्डा लगाएर मिलेमतोमा काम गर्दै, कमिशन खादै आइरहेका छन् ।

दाङका ठूला बजार, घोराही, तुलसीपुर, लमही, नारायणपुर, लगायतका आसपासका अधिकांश ठाउँमा जग्गा दलालले सके आफुले सस्तोमा जग्गा किनेर खण्डीकरण गर्ने, नभए जग्गा धनीसँग मिलेर खण्डीकरण गरी महंगोमा घडेरीका रुपमा बेचबिखन गर्दै कमिसन खादै आइरहेका छन् ।

घोराही उपमहानरपालिकाले अहिले बनिरहेका घडेरीहरुमा आफ्नो मापदण्ड अनुसार बाटो, नाला, नभएको जनाएको छ । गत वर्ष घोराही उपमहानगरपालिका र बंगालचुली गाउँपालिकामा मात्रै झन्डै ४५ सय कित्ताकाट भएको नापी कार्यालय घोराहीले जनाएको छ ।

नापी कार्यालय लमही र तुलसीपुरबाट पनि उत्तिकै मात्रामा कित्ताकाँट भएका छन् । नियमामा एउटा जग्गाको वर्षमा एक पटक मात्र कित्ताकाँट गर्न मिल्ने भए पनि जग्गा दलाली, नापी र मालपोत कार्यालयका कार्मचारीसँगको मिलेमतोमा एउटै जग्गाको पटक(पटक कित्ताकाँट हुँदै आएका छन् ।

जग्गा खण्डीकरण गर्दा स्थानीय तहसँग समन्वय गर्नुपर्ने घोराही उपमहानरपालिकाले जनाएको छ । जग्गालाई व्यवस्थित गर्नका लागि आगामी दिनमा कानून बनाएर अगाडी बढ्ने उपमहानगरपालिकाको भनाइ छ ।

तराईको खाद्यन्न उत्पादन हुने जमिनलाई खण्डीकरण गरी मास्ने काम भइरहेको छ । यसले भविष्यमा खाद्यन्न बाली उत्पादन कम भइ खाद्य संकट नआउला भन्न सकिन्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *