धौलागिरि अस्पतालमा चिकित्सकको चरम अभाव, आइसियु सेवा प्रभावित

हिमालय टिभी
२०७८ भदौ ८ गते १८:३५
धौलागिरि अस्पतालमा चिकित्सकको चरम अभाव, आइसियु सेवा प्रभावित

८ भदौ २०७८ गलकोट । बागलुङस्थित धौलागिरि अस्पतालमा जनशक्तिको चरम अभाव भएपछि सघन उपचार (आइसियु) सेवा प्रभावित भएको छ ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले तीन महिना अघि पाँच जना मेडिकल अधिकृतको सरुवा गरेकोे र त्यस पदमा अर्को चिकित्सक नपठाउँदा आइसियु सेवा बन्द गर्ने अवस्थामा पुगेको अस्पताल जनाएको छ ।

कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेपछि झन्डै एक वर्षअघि सो अस्पतालमा तीन आइसियु र दुई भेन्टिलेटरसहितको शय्या सञ्चालन गरेपनि चिकित्सक अभावमा सो सेवा प्रवाहमा समस्या भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र विक पोखरेलले जानकारी दिनुभयो ।

“सघन उपचार सेवा सञ्चालनका लागि आवश्यक चिकित्सकको अभाव रहेको छ”, उहाँले भन्नुभयो, “कोरोना महामारीमा २०० भन्दा बढी कोरोना भाइरस सङ्क्रमितका गम्भीर प्रकारका बिरामीकोे आइसियु र भेन्टिलेटरमा उपचार गरिएको थियो ।” सामाजिक विकास मन्त्रालयले तत्कालै अन्य डाक्टर पठाउने शर्तमा डा प्रनिता राजभण्डारी, सुप्रिया पौडेल, आकाश चित्रकारलगायत पाँच डाक्टरको एकैसाथ सरुवा गरेको थियो । डाक्टरको सरुवापश्चात् अन्य मेडिकल अधिकृतलाई आइसियुको जिम्मेवारी दिएर सञ्चालनमा ल्याए पनि हालसम्म डाक्टर थप हुनुको सट्टा घट्दै जान थालेपछि सो सेवा बन्द हुने अवस्थामा पुगेको मेसु पोखरेलको भनाइ छ ।

“करारका मेडिकल अधिकृतको करार अवधी सकिएपछि जानु भो, केहीको मन्त्रालयले सरुवा ग¥यो, आइसियु सञ्चालनका लागि मेडिकल अधिकृत आवश्यक भएपनि अहिले न्यून मेडिकल अधिकृतले काम चलाइएको छ, म डाक्टर ल्याउन पहल स्वरुप काठमाण्डौं र पोखरा धाइरहेको छु, सुनुवाई कतैबाट भएको छैन, तत्कालै चार पाँच जना मेडिकल अधिकृत ल्याउन नसके आइसियू सेवा बन्द गर्नुपर्ने अवस्था आउनेछ”, उहाँले भन्नुभयो ।

कोरोना महामारीमा अस्पतालको स्तरोन्नति सँगै गुणस्तरीय सेवा दिन थालिएको भए पनि पछिल्लो समय चिकित्सकको अभाव हुन थालेको छ । कोरोना महामारीका बीच सीमित स्रोत र साधनका बाबजुद पनि उत्कृष्ट व्यवस्थापन गर्दै आएको अस्पतालमा दरबन्दीअनुसारको चिकित्सक छैनन् भने करारका मेडिकल अधिकृतको समेत करार अवधि सकिँदा समस्यामा परेको र यसको प्रत्यक्ष असर आइसियु कक्षलाई परेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी रानामगरले बताउनुभयो ।

कोरोना महामारीकै अवधिमा थुप्रै पूर्वाधार, उपकरण जुटाएको अस्पताल पुनः चिकित्सक अभावको मारमा परेको छ । सम्भावित तेस्रो लहरको खतरा बढिरहेको बेला आइसियु र भेन्टिलेटर सञ्चालनका लागि आवश्यक मेडिकल अधिकृतको अभाव हुनु दुर्भाग्य भएको सेवाग्राही बताउँछन् । सोह्र जना स्थायी विशेषज्ञको दरबन्दी रहेको अस्पतालमा हाल एक जना मात्रै विशेषज्ञ डाक्टर कार्यरत छन् ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विक पोखरेलबाहेक अन्य कुनै पनि विशेषज्ञ डाक्टर नरहेको अस्पतालले जनाएको छ । अस्पतालमा अहिले १० जना विशेषज्ञ डाक्टर करारमा कार्यरत भए पनि छ जना स्थायी दरबन्दी रहेको मेडिकल अधिकृतमध्ये अहिले एक जना मात्रै अस्पतालमा कार्यरत छन् । करारका १५ जना मेडिकल अधिकृत कार्यरत रहेको अस्पतालमा अहिले जम्मा पाँच जना मात्रै मेडिकल अधिकृत कार्यरत रहँदा अस्पतालको सेवा प्रभावित बनेको छ ।

गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधुमाया अधिकारीले तत्काल डाक्टर पठाउने अस्पताल निरीक्षणका क्रममा जनाए पनि हालसम्म डाक्टर नआउँदा कोरोना सङ्क्रमितको उपचारका लागि अत्यावश्यक आइसियु सेवा बन्द हुने अवस्थामा पुगेको हो । आइसियु कक्षका लागि स्टाफ नर्स पर्याप्त भए पनि मेडिकल अधिकृत नुहँदा आइसियु चलाउन सक्ने अवस्था नरहेको अस्पतालले जनाएको छ ।

कोरोनाका जटिल बिरामीलाई आइसियु तथा भेन्टिलेटर आवश्यक पर्ने भएपछि सङ्घीय सरकार र गण्डकी प्रदेश सरकारले झण्डै रु डेढ करोडको लगानीमा आइसियु सेवा विस्तार गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *