३१ अगस्तभित्र अफगानिस्तान छाड्न पश्चिमा मुलुकलाई तालिबानले दियो चेतावनी

७ भदौ २०७८ काबुल । तालिबानले तोकिएको समय सीमाभित्र अफगानिस्तान छाड्न पश्चिमा मुलुकलाई चेतावनी दिएको छ ।
तालिवानको कब्जापछि अफगानिस्तान छाडेर जानेको चाप बढेपछि तालिबानले भने पश्चिमा मुलुकलाई यो महिनाको अन्त्यसम्म अफगानिस्तान छाड्न चेतावनी दिएको हो ।
तालिबान प्रवक्ता सुहैल शाहीनले अमेरिकालगायतका पश्चिमा मुलुकलाई अगष्ट ३१ को समयसीमा नबढाउने स्पष्ट पारेका हुन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले अगष्ट ३१ तारिखसम्म अमेरिकी सेना स्वदेश फर्कने बताइसकेकाले यसपछि पनि उनीहरु बसिरहे यसलाई अफगानिस्तान कब्जा गर्ने मनशायबाट हेरिने उनको भनाइ छ ।
तालिबान प्रवक्ता शाहीनले त्यसपछि विकसित हुने परिस्थिति सामना गर्न अमेरिकालाई चेतावनी समेत दिएका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले जी सेभेनको बैठकमा राष्ट्रपति बाइडनलाई काबुलमा अमेरिकी सेनाको उद्धार अभियान लम्ब्याउन आग्रह गर्न सक्ने बीबीसीले जनाएको छ ।
विभिन्न मुलुकले अफगानिस्तानबाट आफ्ना नागरिकको उद्धार उडान गरिंरंहदा हजारौं अफगान नागरिक पनि मुलुक छोड्न आतुर देखिएका छन् ।
यता काबुल विमानस्थलमा अज्ञात व्यक्तिको आक्रमणबाट अफगान सेनाका एक सदस्य मारिएको र तीन जना घाइते जर्मन सेनाले जनाएको छ ।
काबुल विमानस्थल आसपास भएको गोलीकाण्ड र भागदौडमा हालसम्म २० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रतिक्रिया