छोरालाई मिर्गौला दान दिने तयारीमा कुमारी

हिमालय टिभी
२०७८ भदौ ७ गते ७:०३
छोरालाई मिर्गौला दान दिने तयारीमा कुमारी

७ भदौ २०७८ दमौली । छोराको दुवै मिर्गौला फेल भएपछि कुन चाँही आमाको मन रुँदैन र ? अहिले त्यस्तै भएको तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेकी कुमारी क्षेत्रीलाई ।

२८ वर्षीय अनुप क्षेत्रीको विगत दुई वर्षदेखि मिर्गौलाले काम गर्न छाडेपछि उनीका मुहारमा खुशी छैन ।

छोरालाई कसरी बचाउने भन्नेमा उनी चिन्तित हुनुहुन्छ । कमजोर आर्थिक अवस्था र प्रत्यारोपणका लागि खर्च लाग्ने भएपछि परिवार नै पीडामा छ । उनीले छोरा बचाउनका लागि आफ्नो मिर्गौला दान गर्दै हुनुहुन्छ । काठमाडाँैस्थित त्रिवि शिक्षण अस्पतालमा परीक्षण गरेपछि उनीको मिर्गौला छोरालाई प्रत्यारोपण गर्न मिल्ने भएको बुबा पदमबहादुर क्षेत्रीले जानकारी दिनुभयो । “सबै परीक्षण गरेपछि आमाको मिर्गौला छोरालाई प्रत्यारोपण गर्न मिल्ने भएको छ”, उहाँले भन्नुभयो, “मिर्गौला त प्रत्यारोपण हुने भयो तर खर्च कसरी जुटाउने भन्ने चिन्ता अझै छ ।”

डुम्रेस्थित एक कम्पनीमा काम गर्दैगर्दा अनुपका मिर्गौलामा समस्या आएको थियो । परीक्षण गराउँदा दुवै मिर्गौला फेल भएको पत्ता लागेको थियो । त्यसयता उहाँ नियमित डायलासिस गराउँदै आउनुभएको छ । स्वास्थ्यमा सुधार नआएपछि चिकित्सकले प्रत्यारोपणको सुझाव दिएका थिए ।

“मिर्गौला प्रत्यारोपण गर्नुपर्छ भनेपछि मिर्गौला कताबाट खोज्ने भन्नेमा चिन्तित भयाँै, पछि आमाको मिर्गौला छोरालाई प्रत्यारोपणका लागि मिल्ने भयो,” उहाँले भन्नुभयो, “सबै परीक्षण सकिएको छ, अब चिकित्सकले कहिले भन्छन् त्यही दिन प्रत्यारोपणको तयारी छ ।” प्रत्यारोपणका रु १२ देखि १५ लाख खर्च लाग्ने चिकित्सकले बताएका छन् । हालसम्म रु छ लाख खर्च भइसकेको छ । अनुपका उपचारमा सघाउन विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले सहयोग गर्दै आएका छन् । हालसम्म रु आठ लाख सङ्कलन भएको पदमले जानकारीदिनुभयो “गरिखाने परिवार प¥र्यों, छोराको उपचारका लागि त्यत्रो पैसा जुटाउन मुस्किल भइरहेको छ, सहयोग पनि पाइरहेका छौँ”, उहाँले भन्नुभयो, “थप सहयोग पाए छोराको जीवन बचाउन सक्छाँै ।”

रु एक लाख सहयोग
अनुपको मिर्गौला प्रत्यारोपणका लागि शान्तिदीप युवा क्लबले रु एक लाख हस्तान्तरण गरेको छ । व्यास–६ शिशाघाटस्थित युवा क्लबले सो सहयोग गरेको हो । क्लबको तर्फबाट सङ्कलित रु ९१ हजार, युवा सङ्घ व्यास नगरका संयोजक कृष्णकुमार श्रेष्ठको तर्फबाट रु पाँच हजार र आले फर्निचरका प्रोपाइटर केशर आलेबाट चार हजार गरी रु एक लाख पीडितलाई हस्तान्तरण गरिएको छ ।

क्लबका अध्यक्ष सूर्यप्रसाद छिमालले विभिन्न व्यक्ति तथा सङ्घसंस्थाको सहयोगमा रकम सङ्कलन गरिएको जानकारी दिनुभयो । मिर्गौला पीडित अनुपको बारेमा जानकारी पाएपछि रकम सङ्कलन गरिएको र उक्त रकमले पीडितका उपचारमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गर्नुभयो ।

बारअनुसार सेवा
कोभिड–१९ को सङ्क्रमण दिनदिनै बढ्दै गइरहेको र कार्यालयमा सेवाग्राहीको चाप अत्यधिक बढेपछि जिल्ला प्रशासन कार्यालयले आजदेखि बारअनुसार सेवा प्रवाह गर्ने भएको छ । दश स्थानीय तह रहेको जिल्लाका नागरिकलाई कार्यालयले बारअनुसार सेवा प्रवाह गर्न लागेको हो ।

कार्यालयमा अत्यावश्यक सेवाबाहेक अन्य सबै किसिमका दैनिक सेवा लिन आउने सेवाग्राहीको सङ्ख्या अत्यधिक बढेकाले यस्तो व्यवस्था शुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । “कार्यालय तथा बजारमा भीडभाडसँगै सङ्क्रमण पनि बढेको हुँदा मानिसको आवागमन कम गर्न अर्को व्यवस्था नभएसम्मका लागि स्थानीय तहगतरुपमा सेवा प्रवाहको व्यवस्था मिलाएका छौँ”, उहाँले भन्नुभयो ।

कार्यालयका अनुसार आइतबार शुक्लागण्डकी, भानु नगरपालिका तथा आँबुखैरेनी र ऋषिङ गाउँपालिका, सोमबार व्यास नगरपालिका र म्याग्दे गाउँपालिका, मङ्गलबार शुक्लागण्डकी नगरपालिका, घिरिङ र ऋषिङ गाउँपालिकाका जनताले सेवा लिन पाउनेछन् ।

बुधबार भिमाद नगरपालिका, म्याग्दे, ऋषिङ, देवघाट, बन्दिपुर गाउँपालिका, बिहीबार आँबुखैरेनी, देवघाट गाउँपालिका तथा भीमाद र भानु नगरपालिका र शुक्रबार व्यास नगरपालिका र बन्दिपुर गाउँपालिकालाई निर्धारण गरिएको छ ।

यसैबीच जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले पछिल्लो पटक थप गरेको निषेधाज्ञा आज राति १२ बजेदेखि सकिँदैछ । आज नै जिल्ला कोभिड व्यवस्थापन समितिको बैठक बस्ने जनाइएको छ । बैठकले निषेधाज्ञाको मोडालिटीबारे छलफल गरी प्रमुख जिल्ला अधिकारी संयोजक रहेको कोभिड सङ्कट व्यवस्थापन केन्द्रलाई सिफारिस गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *