झापामा धान गोड्न हाँसको प्रयोग, किसान उत्साहित

हिमालय टिभी
२०७८ भदौ ४ गते ९:०४
झापामा धान गोड्न हाँसको प्रयोग, किसान उत्साहित

४ भदौ २०७८ झापा । झापामा धान गोड्न हाँस प्रयोग गरिएको छ ।

निजी क्षेत्रबाट स्थापना भएको राष्ट्रिय खाद्यान्न बैँक लिमिटेडले बर्दिया, झापा लगायतका जिल्लामा धान गोडमेलका लागि हाँस पालनको अवधारणा ल्याएको थियो । सोही अनुसार परीक्षण अन्तर्गत झापा गौरादहका धनन्जय चुँडालले एक हजार हाँस पालन गर्नुभएको छ ।

३ विगाहभन्दा धेरै क्षेत्रफलमाधान खेती गर्नुभएका उहाँले धान खेती र हाँसपालन एकसाथ गर्नुभएको छ । आहाराको खोजीमा हाँसले धान खेतमा रहेको झार चुच्चोले र खुट्टाले चलाउँछन् जसले गर्दा आलीमा पनि झार नदिएको किसान चुँडालले बताउनुभयो ।

एक हजार हाँसले एक दिनमा १ बिघा खेत गोडमेल गर्ने भएपछि चुँडाललाई अर्मपर्मका लागि गाउँलेहरूलाई गुहार्नु परेको छैन । धान रोपेको २२ देखि २५ दिनपछि मात्र धान खेतमा हाँस छोड्न मिल्छ ।

यसरी छोड्न शुुरु गरिएका हाँस धानको प्रजाति अनुसार फूलखेल्नु अघिसम्म लगभग चार महिनासम्म छोड्न सकिन्छ । राष्ट्रिय खाद्यान्न बैँकका अनुसार यो अवधिमा एउटा हाँसले ४ किलोसम्म मल दिन्छ । परीक्षणको रुपमा अपनाइएको यो प्रविधिप्रति किसानहरूको चासो बढेको छ । मलको काम पनि हाँसबाटै हुने भएपछि हाँस पालन सुरु गर्ने चाहना भएको एक जना किसान गंगाबहादुर खड्काले बताउनुभयो ।

धनन्जय चुँडालले हाँस पालन गर्नुभएपछि झापाका बाँकी किसानले पनि हाँस पालन गर्ने योजना बनाएका छन् । हाँस पालन गर्दा धान खेति बढाउन सकिने, झार गोड्ने, किरा मार्ने भएपछि आगामी वर्षबाट हाँस पालन सुरु गर्ने झापाका किसानहरुले बताएका छन् ।

साधारणतया एक हेक्टर खेतमा दुई हजार हाँस छोड्न सकिन्छ । एकातिर धानको उत्पादन बढ्ने अर्कोतर्फ हाँस पालनसमेत हुने यो शैलीको अनुकरण भने जापानीज राइस डग फार्मिङ प्रविधिबाट गरिएको राष्ट्रिय खाद्यान्न बैँकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *