मोरङमा विद्युतका कङ्क्रिट पोल उत्पादन शुरु

हिमालय टिभी
२०७८ साउन ३० गते ६:३०
मोरङमा  विद्युतका कङ्क्रिट पोल उत्पादन शुरु

३० साउन २०७८ काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मोरङको टङ्की सिनुवारीमा विद्युतका कङ्क्रिट पोल उत्पादन शुरु गरेको छ ।

पोल उत्पादनलाई बढावा दिने र विद्युतीकरणलाई थप प्रभावकारी बनाउने लक्ष्यका साथ प्राधिकरणले ठूलो मात्रामा पोल उत्पादन गर्न लागेको हो ।

प्राधिकरणको इन्जिनियरिङ सेवा निर्देशनालयअन्तर्गत कङ्क्रिट पोल प्लान्ट आयोजनाले टंकिसिनुवारी प्लान्टको निर्माण सम्पन्न गरी परीक्षण उत्पादन शुरु गरेको हो । प्लान्टले विद्युत वितरणमा प्रयोग हुने ८, ९ र ११ मिटरका पोल उत्पादन हुने छन् । रु १४ करोड ५० लाख लागतमा निर्माण गरिएको प्लान्टको वार्षिक पोल उत्पादन क्षमता ३३ हजार ५८० थान रहेको छ ।

इन्जिनियरिङ सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले आज परीक्षण उत्पादनको निरीक्षण गरी नियमितरुपमा पूर्णक्षमतामा पोल उत्पादन शुरु गर्न आयोजना व्यवस्थापनलाई निर्देशन दिनुभयो ।

उहाँले प्लान्टबाट पोल उत्पादन शुरु भएपछि टाढाबाट पोल ल्याउँदा लाग्ने ढुवानी खर्च र समय बचत हुने उल्लेख गर्नुभयो ।

आयोजना प्रमुख परमार धीरसेनका अनुसार कोभिड–१९ महामारीको नियन्त्रण तथा रोकथाकका लागि जारी गरिएको निषेधाज्ञा र भारतबाट मालसामान तथा प्राविधिक आउन ढिलाई हुँदा परीक्षण उत्पादन निर्धारित समयभन्दा ढिलो भएको हो ।

उहाँले परीक्षण उत्पादनमा प्राविधिक समस्या नआएमा प्लान्ट केही दिनपछि पूर्णक्षमतामा चल्ने जानकारी दिनुभयो । प्लान्टबाट उत्पादित पोल मुख्यरुपमा प्रदेश नं १ र र २का जिल्लामा आपूर्ति गरिने छ । प्राधिकरणले अहिले तनहुँको कोत्रे र पर्साको अमलेखगञ्जबाट कङ्क्रिट पोल उत्पादन गर्दै आएको छ भने कैलालीको लम्कीमा प्लान्ट निर्माणाधीन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *