समाज

लुम्बिनी गुरुयोजना–सिसौका विरुवामा रोग देखिएपछि विकल्पमा फलफूलका विरुवा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन २९ गते १५:३१
लुम्बिनी गुरुयोजना–सिसौका विरुवामा रोग देखिएपछि विकल्पमा फलफूलका विरुवा (भिडियो रिपोर्टसहित)

२९ साउन २०७८ रुपन्देही । लुम्बिनीमा गुरुयोजना अनुसार हरियाली प्रवर्द्धन गर्न सिसौका बिरुवा रोपिएको थियो । ती बिरुवा हुर्किँदै गएपछि रोग देखियो । सिसौ हुर्काउन कठिन भएपछि पछिल्लो समय लुम्बिनीमा त्यसको विकल्पका रुपमा फलफुलका विरुवा लगाइएको छ ।

सन् १९७८ मा प्रोफेसर केन्जो टाङ्गेको गुरुयोजना अनुसार लुम्बिनीमा जग्गा अधिग्रहणको काम शुरु भयो । तत्कालिन समयमा जग्गा अधिग्रहण गर्दा धेरै गाउँ हटाएर लुम्बिनी क्षेत्रमा समावेश गरियो ।

लुम्बिनी क्षेत्रलाई जति सक्यो छिटो हरियाली बनाउनका लागि लुम्बिनी विकास कोषले त्यो समयमा सिसौको रुख रोपेको थियो । सिसौ छिटो बढ्ने भएको कारणले लुम्बिनी विकास कोषले लुम्बिनीको अधिकांश क्षेत्रमा सिसौ रोपेको थियो ।

सिसौमा पछि रोगहरु आयो । रोगका कारण सिसौका रुख हरियालीका लागि उपयुक्त देखिएन । सिसौका कारण लुम्बिनी उजाड देखिन थाल्यो । अहिले भने लुम्बिनीलाई सिसौको रुखबाट विस्थापित गरेर फलफूल बगैंचाको रुपमा रुपान्तरण गर्ने काम भइरहेको छ ।

लुम्बिनी सिमसार क्षेत्र पनि हो । सिमसार क्षेत्र चराहरुको लागि मुख्य बासस्थानको रुपमा चिनिन्छ । चराहरुको संरक्षणको लागि पनि सिसौको रुख हटाउनु जरुरी देखिन्छ । सिसौको रुखमा चराहरुले गुडँ बनाउँदैनन् जसका कारण लुम्बिनीमा सिसौ बोझ बन्दै गएको छ ।

सिमसार क्षेत्रमा फलफूल राम्रो हुने भएकाले लुम्बिनीमा पनि रोपिँदै छ । लुम्बिनीमा हालसम्म ३८ हेक्टरमा करिव १२ हजार फलफूलका बिरुवा रोपिएका छन् । लुम्बिनी बिकास कोषले लुम्बिनी क्षेत्रमा १६ हेक्टरमा आँप, १३ हेक्टरमा कागती, अनार र अम्बा रोपिने छ भने ९ हेक्टरमा कटहर, जामुन र लिच्चीको बोट रोपिनेछ ।

फलफूलको बिरुवा रोप्नको लागि टेण्डर आह्वान गरेर दया निर्माण सेवालाई यसको जिम्मा दिएको छ । २ करोड ६४ लाख २१ हजार ७ सय ३० रुपैयाँमा पाएको ठेक्का सम्झौता अनुसार उसले २०७८ मंसिर ३० गते काम सक्ने छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *