मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिन माग गर्दै एमाले सांसद सर्वोच्च अदालतमा (भिडियो रिपोर्टसहित)

२५ साउन २०७८ काठमाडौं । लुम्बिनी प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता गर्न माग गर्दै नेकपा एमालेका सांसद सर्वोच्च अदालत गएका छन् ।
सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले प्रदेश सांसद लीला गिरीले दिएको रिट दर्ता भएको जानकारी दिनुभयो । सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले काठमाडौंमा रहेका सत्ता पक्षका सांसदहरु रिट लिएर सर्वोच्च गएको जानकारी दिनुभयो ।
उहाँले संविधानको धारा १६८ (१) अनुसार नियुक्त मुख्यमन्त्रीविरुद्ध दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाइने भए पनि विपक्षीले गठबन्धनले संविधानसंग बाझिने गरी प्रस्ताव ल्याएको बताउनुभयो ।
यसअघि अधिवक्ता प्रवेश केसीले अविश्वास प्रस्तावमाथि छलफल गर्न बोलाइएको विशेष अधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा पेश गरेको रिट सर्वोच्चका मुख्य रजिस्ट्रार लालबहादुर कुँवरले दरपीठ गरिदिनु भएको थियो ।
रिट दिन अधिवक्ता केसीको हकदैया नहुने भन्दै रिट दरपीठ भएको थियो । त्यसपछि लुम्बिनी प्रदेशको सत्तारुढ दल एमालेकै सांसद अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको अधिवेशन बोलाउने प्रदेश प्रमुखको निर्णयविरुद्ध अदालत गएको हो ।
साउन १८ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ सांसदले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।
विपक्षी गठबन्धनले अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन बोलाउन माग गरेपछि प्रदेश प्रमुख अमिक शेरचनले अधिवेशन बोलाउनुभएको छ ।
प्रतिक्रिया