तेस्रो भेरियन्टको कोरोना रोकथामको तयारीमा प्रदेश सरकार

हिमालय टिभी
२०७८ साउन ११ गते १३:१७
तेस्रो भेरियन्टको कोरोना रोकथामको तयारीमा प्रदेश सरकार

११ साउन २०७८ कर्णाली । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले तेस्रो भेरियन्टको कोरोना महामारी रोकथामको तयारीमा प्रदेश सरकार लागेको बताउनुभएको छ ।

कोरोनाको अवस्था र तयारीका विषयमा संवाद समूह सुर्खेतद्वारा आइतबार आयोजित अन्तरक्रियामा मन्त्री बुढाक्षेत्रीले पहिलो र दोस्रो भेरियन्टपश्चात् विश्वमा देखिएको तेस्रो भेरियन्टसहितको कोरोना महामारीको प्रभावबाट कर्णालीका जनतालाई बचाउन प्रदेश सरकार तयारीमा जुटेको बताउनुभएको हो ।

“नागरिकको स्वास्थ्यप्रति गम्भीर रहेको प्रदेश सरकार कोरोना महामारीको दुवै चरण पार गरिसकेपछि तेस्रो भेरियन्टको आवश्यक तयारी जनशक्ति तथा उपकरणको व्यवस्थापनमा प्रदेश सरकार निरन्तर लागिरहेको छ”, मन्त्री बुढाक्षेत्रीले भन्नुभयो, “नागरिकको स्वास्थ्यप्रति हामी गम्भीर छौँ, त्यसैले पनि अहिलेको अवस्थामा पहिलो प्राथमिकतामा स्वास्थ्यलाई राखेका छौँ ।”

कोरोना रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकारले कर्णालीका सबै स्थानीय तहसँग समेत सहकार्य गरेको बताउँदै उहाँले सामाजिक विकास मन्त्रालयले चौधरी फाउण्डेशनसँगको सहकार्यमा वीरेन्द्रनगर नगर अस्पताल र युएनडिपीको सहकार्यमा मेहेलकुना अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाको काम अन्तिम चरणमा पुगेको जनाउनुभयो ।

कर्णालीका हरेक नागरिकलाई कोरोना खोपको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुभएका मन्त्री बुढाक्षेत्रीले औषधि र जनशक्तिको अभावमा नागरिकले सेवाबाट वञ्चित नहुने भन्दै प्रदेशका विभिन्न नाकामा हेल्प डेस्कसहित आवश्यक जनशक्तिको व्यवस्थापन गरिसकेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *