समाज

कृत्रिम जलाशय निर्माण गरी यसरी बाह्रै महिना सिंचाइँ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन ८ गते १७:४०
कृत्रिम जलाशय निर्माण गरी यसरी बाह्रै महिना सिंचाइँ (भिडियो रिपोर्टसहित)

८ साउन २०७८ दाङ । खोला खोल्सीबाट बगेर खेर गैरहेको पानीलाई जलाशयमा संकलन गरेर दाङका किसानले सिंचाइ गर्न थालेका छन् ।

पानीको मूल भएका साना खोला खोल्सीमा कच्ची बाँध बनाएर कृत्रिम जलाशय निर्माण गरी पानी संकलन गरिन्छ । त्यसलाई लिफ्ट गरेर किसानले बाह्रै महिना सिंचाइ गर्न थालिएको हो ।

यो दाङमा सिंचाइका लागि बनाइएको कृत्रिम पोखरी हो । दाङका सिंचाइको सुविधा नभएका विभिन्न क्षेत्रमा यस्तै ४७ वटा यस्ता पोखरी निर्माण गरिएको छ । जसमध्ये १४ वटा हाइड्याम छन् भने ३३ वटा साना पोखरी ।

जलाशययुक्त सिंचाइ प्रणाली नेपाल मै नौलो प्रविधि हो । सानो लगानीमा निर्माण हुने र किसानले समूह निर्माण गरी सहजै सञ्चालन गर्न सक्ने भएका कारण दाङमा जलाशययुक्त सिंचाइ प्रणाली लोकप्रिय बन्दै गएको छ ।

वर्षमा एक बाली मात्र खेती गर्दै आएका किसानले सिंचाइका कारण ३ बालीसम्म लगाउन भ्याएका छन् । यसबाट किसानले बेमौसमी तरकारी खेती गरेर थप आम्दानी गर्ने तयारी पनि गरिरहेका छन ।

पोखरी निर्माण भएका ठाउँलाई पर्यटकीय स्थल बनाउने र यसबाट थप आय आर्जन गर्ने स्थानीय बासिन्दाको लक्ष्य छ ।

वृहत दाङ उपत्यका सिंचाइ आयोजनाले सञ्चालन गरेका चार वटा कार्यक्रमबाट ७३ ठाउँमा सिंचाइको व्यवस्था गरिएको छ । अन्य आयोजना निर्माणकै क्रममा छन् । आयोजनाले दाङ्गको ५६ हजार हेक्टर भूमिमा बाह्रै महिना सिंचाइ गर्ने लक्ष्य राखेको छ ।

दाङको ३९ हजार हेक्टर जमिनमा धान, २४ हजार हेक्टरमा गहुँ र १३ हजार हेक्टरमा अन्य बालिको खेती हुँदै आएको छ । सिचाइको नयाँ प्रविधिले उत्पादन समेत बढ्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *