समाज

भारतबाट फर्किएका नेपालीमा मलेरियाको संक्रमण (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन ४ गते २०:४०
भारतबाट फर्किएका नेपालीमा मलेरियाको संक्रमण (भिडियो रिपोर्टसहित)

४ साउन २०७८ बाँके । भारतको मुम्बई र गुजरातबाट फर्किएका नेपालीमा औलो अर्थात मलेरिया रोगको संक्रमण देखिएको छ । बाँकेको नरैनापुरमा यो वर्ष मात्रै ३५ जनामा मलेरिया रोगको संक्रमण देखिएको छ । ति मध्ये ३२ जना भारतको मुम्बई र गुजरातबाट फर्किएका हुन् । नरैनापुर सधै मलेरियाको जोखिममा भएको क्षेत्र हो ।

मलेरिया रोग लामखुट्टेको टोकाइबाट सर्छ । समयमै उपचार हुन नसके यसबाट मानिसको मृत्यु हुन सक्छ । लामखुट्टेको प्रकोप धेरै हुने भएकाले बाँकेको नरैनापुर मलेरिया रोगको उच्च जोखिममा छ ।

हरेक वर्ष चैतदेखि साउनसम्म नरैनापुरमा मलेरिया रोगको प्रकोप देखिदै आएको छ । गत वर्ष नरैनापुरमा ४२ जनामा मलेरियाको संक्रमण देखिएको थियो । यो वर्ष हालसम्म ३५ जनामा मलेरियाको संक्रमण देखिएको छ । ति मध्ये १६ जनामा कडा खालको अर्थात फाल्सिपारम मलेरिया देखिएको छ ।

नरैनापुरका साथै बाँकेको कोहलपुर, बैजनाथ, राप्ती सोनारी र डुडुवा गाउँपालिकामा पनि मलेरियाका बिरामी भेटिएका छन् । भारतबाट फर्किएकामा सीमा नाकाको हेल्थ डेस्कमा कोरोनासँगै अहिले मलेरियाको परीक्षण पनि गर्ने गरिएको छ ।

नेपालमा भेटिएका मलेरियाका बिरामीमध्ये करिब ९८ प्रतिशत भारतबाट भित्रिएको विभिन्न अध्ययनले देखाएका छन् । ३१ प्रतिशत मात्रै साक्षरता भएको नरैनापुरमा स्वास्थ्यसम्बन्धी सचेतनाको अवस्था निक्कै नाजुक छ । स्वास्थ्य कार्यालय बाँकेले नरैनापुरमा झुल वितरण गर्नुका साथै लामखुट्टे नासक विषादी छर्किने गरेको छ ।

लामखुट्टे धेरै हुने क्षेत्रका मानिसलाई मलेरियाको जोखिम पनि बढी हुन्छ । लामखुट्टेको टोकाइबाट जोगाउने सबैभन्दा सहज र प्रभाबकारी उपाय भनेको झुल टाँगेर सुत्नु नै हो । ससाना कच्चि घरमा बस्ने विपन्न परिवारका बालबालिका तथा बृद्धबृद्धा यसको उच्च जोखिममा छन् । सन २००६ मा नरैनापुरमा कडा खालको मलेरिया फैलदा ३६ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *