नेपाललाई ओलीले गद्धार घोषणा गरेपछि एमालेका दोस्रो तहका नेताहरु फेरि सक्रिय

३१ असार २०७८ काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई गद्दार घोषणा गरेपछि पार्टी विभाजनको खतरा बढेको भन्दै दोस्रो पुस्ताका नेता फेरि सक्रिय भएका छन ।
पार्टी एकताका लागि भएको दशबुँदे सहमति बिथोलिने खतरा देखिएपछि एमालेका दोस्रो तहका नेताहरु फेरि सक्रिय भएका हुन् । उनीहरुबीच आज पटक पटक छलफल भएको छ ।
सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्नुअघि आइतबार एमाले कार्यदलले १० बुँदे सहमति जुटाएको थियो । सहमतिलाई पार्टी स्थायी कमिटीले अनुमोदन गर्न नपाउँदै अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललाई गद्दार घोषणा गर्दै नेपाल बाहेक अरु नेता गल्ती कमजोरी स्वीकार गरेर मात्र आए पार्टीमा स्थान दिने भनेपछि स्थिति असामान्य बनेको छ ।
तर कार्यदलमा रहेका दोस्रो तहका नेताले पार्टी फूट्न नदिने भन्दै छलफल थालेका हुन । १० बुँदे सहमति एकताको आधार भन्दै त्यसैको वरिपरि रहेर एकता खोज्न उनीहरु सहमत भएका छन ।
पार्टी विभाजन हुन नदिन आफूहरु सहमत भएको र त्यसै अनुसार लागेको एमाले सचिव एवम कार्यदलका सदस्य गोकर्ण बिष्टले जानकारी दिनुभयो ।
भोलिका लागि बोलाइएको संसदीय दलको बैठक रोक्नुपर्नेमा दुबै पक्षका दोस्रो तहका नेता एकमत भएका छन । उनीहरुले पहिले १० बुँदे सहमतिको विषयमा छलफल गरेर त्यसलाई कार्यान्वयन गर्ने तर्फ ध्यान दिन शीर्ष नेताहरुलाई सुझाव दिएका छन ।
एमालेभित्र अहिले सकेसम्म केपी शर्मा ओली, झलनाथ खनाल र माधवकुमार नेपाल सहित सहमति गराएर एकता जोगाउने, नभए तीनै जना नेतालाई निष्क्रिय पारेर एकता खोज्ने गरी पनि वैकल्पिक छलफल चलिरहेको छ ।
शीर्ष नेताहरुका अभिव्यक्तिले पार्टी एकतामा गम्भीर संकट उत्पन्न गरेको दोस्रो तहका नेताहरुको बुझाई छ ।
प्रतिक्रिया