सत्तापक्षले नै प्रदेशसभा बैठक छाडेर हिँडेपछि….

हिमालय टिभी
२०७८ असार ३१ गते २०:३९
सत्तापक्षले नै प्रदेशसभा बैठक छाडेर हिँडेपछि….

३१ असार २०७८ बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री, मन्त्री र सत्तारुढ एमालेका सांसदले नै प्रदेश सभा बैठक छोडेर हिंडेका छन् ।

सत्ता पक्षले नै बैठक छाडेर हिंडेपछि आधा घण्टाका लागि भनेर स्थगित गरिएको बैठक आज बस्न सकेन । बैठक सूचना टाँसेर भोलि दिउँसो एक बजेसम्मका लागि स्थगित गरिएको छ ।

मन्त्रीहरूले छलफलमा उठेका प्रश्नको जवाफ दिएपछि बजेट सभामा निर्णयार्थ प्रस्तुत हुनुपूर्व मुख्यमन्त्री शंकर पोखरेल, मन्त्री र एमालेका सांसदहरु बैठक छोडेर हिंडेका थिए । त्यसपछि सभामुख पूर्णबहादुर घर्तीले सहमति र सहकार्यका लागि भन्दै आधा घण्टा बैठक स्थगित गर्नुभएको थियो ।

मुख्यमन्त्री शंकर पोखरेलले सभामा बोलेपछि सत्तापक्षका सचेतक भुमिश्वर ढकालले बजेट माथिको छलफलका लागि समय माग गर्नुभयो । तर प्रमुख प्रतिपक्ष दलका संसदीय दलका नेता वीरेन्द्र कनौडियाले प्रक्रियामा जान भनेपछि आधा घण्टाका लागि बैठक स्थगित भयो । त्यसपछि मुख्यमन्त्री, मन्त्री र एमाले सांसद बैठक छोडेर हिंडे । त्यसपछि उनीहरु फर्केनन । र बैठक भोलिसम्मका लागि स्थगित भयो ।

प्रदेशसभामा लामो समयदेखि सरकार अल्पमतमा छ कि बहुमतमा छ भन्ने विवाद छ । सत्तारूढ दल नेकपा एमालेका ३८ जना, नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका सभामुखसहित १९ जना, जनता समाजवादी पार्टीका ६ जना र राष्ट्रिय जनमोर्चाका १ जना गरी हाल ८३ सांसद छन् ।

प्रदेश सभामा जसपाका ३ जना सत्तापक्षमा र ३ जना विपक्षी गठवन्धनमा लागेकाले सभामुखबाहेक सत्ता पक्ष र विपक्षी गठवन्धनको सदस्य संख्या बराबर छ ।

यस्तो अवस्थामा बजेट पारित गर्न सभामुखको मत निर्णायक हुनसक्छ । भोलिसम्म बजेट पारित नभए खर्च गर्न नपाउने अवस्था उत्पन्न हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *