ताँजाकोटमा इन्टरनेट सेवा अवरुद्ध

हिमालय टिभी
२०७८ असार ३१ गते ८:५०
ताँजाकोटमा इन्टरनेट सेवा अवरुद्ध

३१ असार २०७८ सिमकोट । मुगु जिल्लाको खत्याडको नेटा भन्ने ठाउँमा रहेको इन्टरनेट टावरमा आएको खराबीका कारण जिल्लाको ताँजकोट गाउँपालिकामा इन्टरनेट सेवा अवरुद्ध भएको छ ।

असार मसान्तको चापाचापको समयमा गाउँपालिकामा जोडेको वल्र्डलिङ्कको इन्टरनेटले काम नगरेपछि भुक्तानी दिने काम प्रभावित बनेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालले जानकारी दिनुभयो ।

गाउँपालिकामा केही दिनयता नेटले काम नगरेपछि केही स्रेस्ता लिएर एक दिनको पैदलबाटो अदानचुलीको श्रीनगरमा आएर काम गर्नुपरेको गाउँपालिका स्रोतले जानकारी दिएको छ ।

नेट नचलेपछि ताँजकोटमा भएको ग्लोबल आइएमई बैंकले दिने सेवासमेत प्रभावित बनेको छ । सालतमामीको समयमा इन्टरनेटले काम नगरेपछि निकै गाह्रो भएको भन्दै बैंकका पव बुढाले अत्यावश्यक भुक्तानी र अन्य काम अदानचुली शाखाबाटै चलाउनुपरेको बताउनुभयो ।

“हामीले नगरी नहुने भुक्तानी र अन्य काम अदानचुलीको शाखाबाटै चलाएका छौँ”, उहाँले भन्नुभयो, “अनलाइनबाट सबै काम गर्नुपर्नेमा नेट नै नभएपछि पछिल्लो समय गाउँपालिका र बैंकलाई काम गर्न निकै सकस भएको हो ।”

ताँजकोटमा गएको तीन दिनदेखि इन्टरनेट आउने जाने भएकाले मर्मतका लागि मुगु गमगडीबाट खत्याडतर्फ हिँडेको वल्र्डलिङ्कका प्रतिनिधि प्रमोद कुमालले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *