कैलालीमा बालक हत्या आरोपमा दुई जना किशोरी पक्राउ
२४ असार २०७८ कैलाली । कैलालीको टीकापुर नगरपालिका–१ का साढे ३ वर्षीय बालक विवेक विष्टको हत्या आरोपमा प्रहरीले दुई किशोरीलाई पक्राउ गरेको छ ।
बालकलाई आफूसँगै जामुन खान भन्दै लिएर गएकी उनकी दिदी नाता पर्ने १५ वर्षीया किशोरी र उनकी १४ वर्षीया साथी मिलेर बालकको हत्या गरेको प्रहरीले जनाएको छ ।
घरायसी रिसइबीका कारण बालकको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको कैलालीका प्रहरी प्रमुख विश्व अधिकारीले जानकारी दिनुभयो ।
घरदेखि करिब पाँच सय मिटर उत्तरतर्फ पुगेपछि बालकले खुट्टामा लगाएको चाँदीका बाला निकालेर कुलोमा धकेलेको किशोरीले स्वीकार गरेको अधिकारीले बताउनुभयो ।
घटना खुल्ने डरले उनी साथीको घरमा गएर किताब लगेको, चाँदीका बाला साथीलाई लुकाउन दिएको पनि अनुसन्धानबाट खुलेको छ । लम्कीचुहा नगरपालिका–६ घर भएकी १४ वर्षकी अर्की किशोरीलाई बाला लुकाउन दिएको र बजारमा बिक्रीको प्रयाससमेत गरेको प्रहरीको भनाइ छ ।
अस्ति देखि बेपत्ता भएका टीकापुर नगरपालिका–१ का विवेक हिजो मृत अवस्थामा फेला परेका थिए ।
प्रतिक्रिया