विपक्षी दलको अवरोधका कारण बागमती प्रदेशसभा बैठक स्थगित (भिडियो रिपोर्टसहित)

२१ असार २०७८ काठमाडौं । विपक्षी दलको अवरोधका कारण बागमती प्रदेश सभाको बैठक आज पनि स्थगित भएको छ ।
बैठक सुरु भए लगतै विपक्षी दलका सांसद उठेपछि सभामुख सानुकुमार श्रेष्ठले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेता शालिकराम जमकट्टेललाई बोल्न समय दिनुभयो ।
उहाँले बजेट प्रदेश बासिन्दाको हितमा नभई अपारदर्शी रहेको भन्दै मुख्यमन्त्री डोरमणि पौडेलसँग असन्तुष्टि व्यक्त गर्नुभयो । बजेटका विषयमा छलफल नभई बैठक अगाडि नबढाउन सभामुखसँग उहाँले आग्रह गर्नुभयो ।
सांसदहरूले उठेर अवरोध कायम राखेपछि सभामुख श्रेष्ठले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको घोषणा गर्नुभयो ।
शनिबार बजेट विनियोजन असन्तुलित भएको भन्दै नेकपा माओवादी, नेपाली कांग्रेस र विवेकशील साझा पार्टीले अवरुद्ध गरेका थिए ।
हिजो बैठक संचालनका लागि छलफल भए पनि सहमति नजुट्दा बैठक बस्दै नबसी स्थगित भएको थियो ।
प्रतिक्रिया