वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संघर्ष झन चर्कँदै

१६ असार २०७८ सुनसरी । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संघर्ष झन चर्कदै गएको छ । आन्दोलनरत संयुक्त संघर्ष समितिले चार जना पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेको छ ।
समितिले आज उपकुलपति डाक्टर ज्ञानेन्द्र गिरी, रेक्टर डाक्टर गुरुप्रसाद खनाल, रजिष्ट्रार डाक्टर मोहनचन्द्र रेग्मी र अस्पतालका निर्देशक डाक्टर गौरीशंकर साहको कार्यकक्षमा ताला लगाएको छ ।
यसअघि हिजो भएको वार्तामा उपकुलपति गिरी मदिरा सेवन गरी आएको भन्दै आन्दोलनकारीले पदाधिकारीलाई वार्तास्थलमै थुनेका थिए । राती प्रहरीले थुनामुक्त गरेको थियो ।
मापासे परीक्षण गर्नुपर्ने माग गरेपनि गिरीले नमानेपछि केहीबेर तनाव भएको थियो । गिरीको बोली लर्बरिएको र बोल्दा रक्सीको गन्ध आएको भन्दै आन्दोलनकारीले यस्तो अवस्थामा वार्ताको अर्थ नहुने भन्दै वार्तास्थलबाट बाहिर निस्किएर पदाधिकारीलाई थुनेका थिए ।
संयुक्त संघर्ष समितिका सहसंयोजक डाक्टर विष्णु पोखरेलले प्राज्ञिक थलोमा बार्ताका लागि आउँदा उपकुलपति गिरीले आफनो मर्यादा भुलेर मदिरा सेवन गरी आएकाले अब प्रतिष्ठानका पदाधिकारीसंग बार्ताको औचित्य समाप्त भएको बताउनुभयो ।
उहाँले प्रतिष्ठानमा जारी आन्दोलन अन्त्यका लागि सरकारले बनाउने टोलीसँग मात्र अब बार्तामा बस्ने बताउनुभयो । प्रतिष्ठानमा अनियमितता भएको भन्दै फ्याकल्टी, विद्यार्थी, नर्स तथा चिकित्सक असार १ गतेदेखि आन्दोलनमा छन् ।
आन्दोलनरकारीले रिले अनसन पनि गरिरहेका छन् । प्रतिष्ठानका चार पदाधिकारीको राजिनामा पहिलो शर्त भएको समितिले स्पष्ट गरेको छ ।
प्रतिक्रिया