कुलोका विषयमा विवाद भएपछि चल्यो गोली

Himalaya Television
२०७८ जेठ २८ गते १६:१०

कुलोका विषयमा विवाद भएपछि चल्यो गोली

२८ जेठ २०७८ दाङ । तुलसीपुर उपमहानगरपालिका–८ अस्वारास्थित गहतेखोलामा कुलाको विवाद भएपछि स्थानीयवासी एक युवाले गोली चलाएका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार सोही वडाको चन्द्रगञ्ज बस्ने २५ वर्षीय पूर्णबहादुर ओलीले गोली चलाएका हुन् ।

उनले चलाएको गोली कसैलाई पनि लागेन । उनले भारतबाट पेस्तोल ल्याएको बुझिएको प्रहरी नायब उपरीक्षक सिंहले बताउनुभयो । आज दिउँसो १ः०० बजेतिर पेस्तोल चलाएर मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा उनलाई प्रहरीले सोही वडाको टिकरीबाट पक्राउ गरेको हो ।

उनीसहित भाग्दै गरेको मोटरसाइकल चलाइरहेका तुलसीपुर उपमहानगरपालिका–८ टिकरीका आकाश चौधरीलाई पनि पक्राउ गरिएको छ । प्रहरीले पेस्तोलसहित छ राउन्ड गोली पनि बरामद गरेको जनाएको छ ।

भारतमा बस्दै आएका पूर्णबहादुर केही समयअघि घर आएका थिए । भारतबाट आउँदा आफूले पेस्तोल ल्याएको प्रहरीसमक्ष बयान दिएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs