स्वास्थ्य संस्थामा बिरामी नआएपछि घरघरमै उपचार

हिमालय टिभी
२०७८ जेठ २० गते ६:४९
स्वास्थ्य संस्थामा बिरामी नआएपछि घरघरमै उपचार

२० जेठ २०७८ जाजरकोट । स्वास्थ्य संस्थामा उपचार गर्न सर्वसाधारणले आनाकानी गरेपछि जाजरकोट र डोल्पाका केही स्थानीय तहले घरघरमा गएर उपचार शुरु गरेका छन् ।

बारेकोट गाउँपालिकाले कोरोना सङ्क्रमित खोज्न र कोरोनाबाट बच्न सचेतना जगाउँदै स्वास्थ्यकर्मीको टोलीसहित घरदैलोमा हिँडेको बताएको छ ।

सबै वडाका टोलटोलमा सङ्क्रमित खोज्न जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिनुभयो । पालिकाको वडा नम्बर १, ६, ७, ८ र ९ का घरघरमा पुगेर उपचार भइसकेको र अन्य वडामा घरदैलो जारी रहेको छ । शङ्कास्पद बिरामीको एन्टिजेन विधिबाट कोरोना परीक्षणका साथै सचेतनाका काम पनि भइरहेको छ ।

जटिल समस्या देखिएकालाई गाउँपालिकाको आइसोलेशनमा केन्द्रमा रेफर गरेर उपचार कार्य जारी रहेको अध्यक्ष शाहले बताउनुभयो । उहाँले अन्य रोगका बिरामीलाई पनि स्वास्थ्यकर्मीले घरमै पुगेर उपचार गरिरहेको बताउनुभयो । स्वास्थ्यकर्मीको टोली औषधि, उपकरण र विभिन्न स्वास्थ्य सामग्रीसहित गाउँमा रहेको छ । गाउँमा ज्वरो र रुघाखोकीका बिरामी बढे पनि स्वास्थ्यचौकीमा कोरोना परीक्षण गराउन आउनेको सङ्ख्या न्यून भएपछि टोली गाउँमा पुगेको उहाँले बताउनुभयो ।

गाउँमा कोरोना सङ्क्रमितलाई हेर्ने दृष्टिकोण फरक भएकाले अधिकांश बिरामीले स्वास्थ्य परीक्षण नगराएको बारेकाट–५ का जनकबहादुर शाहीले बताउनुभयो । गाउँपालिकाको टोली नखटिँदासम्म अधिकांश बिरामी घरेलु उपचार र धामीझाँक्रीकै भरमा थिए । उहाँले जनप्रतिनिधिसहित स्वास्थ्यकर्मी गाउँमा खटिएपछि अन्य रोगका बिरामीले पनि उपचार पाएको बताउनुभयो  ।

स्वास्थ्य शाखाका प्रमुख वीरराज सिंहका अनुसार घरदैलोका क्रममा झण्डै २०० जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण भएकोे छ । तीमध्ये ७१ जनामा कोरोना पुष्टि भएको छ । सङ्क्रमितमध्ये ३६ होमआइसोलेशन र ३५ संस्थागत आइसोलेशनमा छन । एघार जनाको लिम्सास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । बारेकोटमा सोमबारसम्म ३० जनाले कोरोना जितेका छन ।

डोल्पाको ठुलीभेरी नगरपालिकाले घरघरमा कोरोना जाँच गर्न थालेको छ । नगरपालिकाभित्रका १० वटा स्वास्थ्य संस्थाका प्रमुखलाई बुधबार र बिहीबार तालिम दिएर घरघरमा पठाई कोरोना जाँच गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत दिलप्रसाद रोकायले जानकारी दिनुभयो । सङ्क्रमण हुने डरले स्वास्थ्य संस्थामा सर्वसाधारण आउन नमानेपछि घरघरमा गएर जाँच गर्न लागिएको अधिकृत रोकायले बताउनुभयो ।

दुई दिने तालिम दिएर सबै स्वास्थ्यकर्मीलाई कोरोनाको सचेतनामूलक कार्यक्रममा सहभागी गराउनुका साथै परीक्षण कार्यमा खटाउन लागिएका नगरप्रमुख गणेशबहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार घरघरमा गएर बिरामीको उपचार तथा ज्येष्ठ नागरिकलाइ विशेष सेवा दिन लागिएको छ । बिरामीको प्रकृतिअनुसार बाहिर उपचार गर्न सिफारिससमेत गर्ने व्यवस्था मिलाइएको छ । बिरामी सबैको उपचार नगरपालिकाले बेहोर्ने नगरप्रमुख शाहीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “दश/दश शय्याको आइसोलेशन जुफाल र दुनैमा नगरले स्थापना गरेको छ । जनता जोगाएमा मात्र खास सेवा हुने भएकोले अब हाम्रो ध्यान त्यतातिर केन्द्रीत छ ।” यी आइसोलेशन केन्द्रमा बिरामीको अवस्था हेरेर ल्याई उपचार गर्ने व्यवस्था नगरले गरेको । त्यस्तै सबै पालिका मिलेर दुनैमा १५ शय्याको आइसोलेशन केन्द्रको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *