गण्डकी प्रदेशसभामा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत

हिमालय टिभी
२०७८ जेठ १७ गते १८:३६
गण्डकी प्रदेशसभामा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत

१७ जेठ २०७८ पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रदेश सभामा पेश गरेको छ ।

बर्खे अधिवेशनको दोस्रो दिन गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङले बजेटका सिद्धान्त र प्राथमिकता सभामा पेश गर्दै आधारभूत स्वास्थ्य सेवामा सबैको सरल र सहज पहुँच सुनिश्चित गर्ने बताउनुभयो ।

उहाँले स्वास्थ्य पूर्वाधारको विकास, पर्याप्त दक्ष जनशक्तिको व्यवस्थापन, अक्सिजन प्लान्टको स्थापना, सरुवा तथा संक्रामक रोग अस्पतालको क्षमता विकास र सेवा बिस्तारमा जोड दिइने बताउनुभयो ।

मन्त्री गुरुङले प्रदेश गौरव, रणनीतिक महत्त्व र निर्माणाधिन बहुवर्षीय आयोजना तथा कार्यक्रम कार्यान्वयनलाई विशेष प्राथमिकता दिइ स्रोत सुनिश्चित गरिने बताउनुभयो ।

गुरुङले भौतिक पूर्वाधारतर्फ एक निर्वाचन क्षेत्र एक सडक”, प्रदेशका सबै घरपरिवारलाई आधारभूत खानेपानी सेवा पुर्याउन “एक घर एक धारा” स्थानीय तहका प्रशासनिक भवन निर्माणलाई बजेटमा जोड दिइने प्रदेश जानकारी दिनुभयो ।

उहाँले शिक्षा तर्फ गण्डकी विश्वविद्यालय र गण्डकी प्राविधिक प्रतिष्ठानको भौतिक तथा शैक्षिक पूर्वाधार निर्माण गरेर अध्ययन अध्यापन शुरु गर्ने जानकारी दिनुभयो ।

कृषितर्फ प्राङ्गारिक कृषि उत्पादनलाई प्रवर्द्धन गर्न “मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषि गाउँ” कार्यक्रमलाई निरन्तरता, उत्पादन र उत्पादकत्व वृद्धि गर्न जग्गा चक्लाबन्दी कार्यक्रमलाई निरन्तरता, सुन्तला, कागती, स्याउ, अदुवा, बेसार, आलु, लोकल कुखुरा, गाईभैंसी, भेंडा बाख्रा, च्याङ्ग्रा, आदिको पकेट क्षेत्र घोषण कार्यक्रमलाई प्राथमिकतामा पारिएको छ ।

पर्यटन क्षेत्रको समग्र विकासको गुरूयोजना निर्माण गरी पर्यटन पूर्वाधार तथा प्रवर्द्धन कार्यक्रमहरू सञ्चालन, पर्यटन क्षेत्रमा काम गर्ने श्रमिकहरूका निम्ति विशेष कार्यक्रमलाई गुरुङले प्राथमिकतामा राख्नु भएको छ ।

भोलिबाट विनियोजना विधेयकका प्राथमिकता र सिद्दान्तमाथि छलफल सुरु हुने छ । असार १ गते प्रदेश सरकारले बजेट ल्याउनै पर्ने कानुनी वाध्यता छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *