बजेटका योजना र कार्यक्रममा जनमत प्रभावित गर्ने दुराशय रहेको कांग्रेसको निष्कर्ष (भिडियो रिपोर्टसहित)

१७ जेठ २०७८ काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको बजेटमा सरकारले भ्रमको खेती मात्र गरेको भन्दै बजेट चुनावमा जनमत प्रभावित दुराशयबाट आएको आरोप लगाएको छ ।
कोभिड महामारीले अर्थतन्त्र र जनजीविका नराम्रोसँग प्रभावित भएको समयमा सरकारले भने निर्वाचन केन्द्रीत भएर जनमत प्रभावित गर्ने दुराशयका साथ योजना र कार्यक्रम बजेट वक्तव्यमा राखेको कांग्रेसको आरोप छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा छायाँ सरकारका अर्थमन्त्री समेत रहेका नेता डाक्टर मीनेन्द्र प्रसाद रिजालले सरकारले बजेट पेश गरेका भौतिक उपलब्धिका लक्ष्य कुनै पनि वास्तविकतामा आधारित नरहेको दावी गर्नुभयो । कांग्रेसले बजेट वक्तव्यमा भनिए जस्तो अर्थतन्त्रको विस्तार ६ दशमलव ५ प्रतिशत हुने सम्भव नै नरहेको दावी गरेको छ ।
झण्डै साढे तीन वर्ष देखिको शासनको असफलतापछि पनि हावादारी गफबाट देशलाई समृद्ध र नेपालीलाई सुखी बनाउन सकिन्छ भन्ने भ्रमबाट सरकार अझै मुक्त हुन नसकेको कांग्रेसको आरोप छ ।
समग्रमा, कोरोना कहरबाट प्रताडित आफन्तजन गुमाएका, आफै संक्रमणमा परेका, रोजगारी गुमाएका वा त्यस्तो जोखिममा परेका तथा अर्थतन्त्रको गतिहिनता र राजनीतिक दाउपेच, खिचातानीबाट आजित र निराश नागरिकबीच यो बजेटले कुनै पनि आशा जागृत गर्न नसकेको कांग्रेसले जनाएको छ ।
प्रतिक्रिया