सामूहिक बलात्कारको घटना गाउँमै मिलाउन दबाब

हिमालय टिभी
२०७८ जेठ १५ गते ६:३०
सामूहिक बलात्कारको घटना गाउँमै मिलाउन दबाब

१५ जेठ २०७८ धनुषा । गाउँमै मिलाउन खोजिएको सामूहिक बलात्कार प्रयासको घटनामाथि प्रहरीको हस्तक्षेपपछि मुद्दा दर्ता भएको छ ।

सबैला नगरपालिकामा एक १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार प्रयास भएको थियो । उक्त घटना सार्वजनिक भएपछि स्थानीय केही नेताहरूले गाउँमै मिलाउन दबाब दिएका थिए ।

सबैला–१२ रघुनाथपुर बस्ने तीन युवाले किशोरीलाई बलात्कार प्रयास गर्दै भिडियोसमेत खिचेको पीडित किशोरीले जनाएकी छन् । पीडित किशोरीका परिवारजनले इलाका प्रहरी कार्यालय सबैलामा जेठ १३ गते आरोपित तीन युवा गाउँकै १८ वर्षीय राजु पासवान, १९ वर्षीय जितेन्द्र पासवान र २० वर्षीय अजित पासवान विरुद्ध उजुरी दर्ता गराएका छन् ।

जेठ १२ गते दिउँसो खेत गएकी किशोरीलाई ती युवाले सामूहिक बलात्कार प्रयास गरेको पीडितले बताइन् । घटना लगत्तै आरोपित तीनै जना युवा फरार रहेकाले उनीहरूको खोजी भइरहेको इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक राजेश सिग्देलले जानकारी दिनुभयो ।

प्रेस मञ्च प्रदेश २ का कार्यवाहक अध्यक्ष तथा सबैलाका बासिन्दा सुरेश यादवका अनुसार घटनापश्चात् पीडित परिवारलाई गाउँमै मिल्न स्थानीय केही नेताले दबाब दिँदै आएका थिए । उहाँले भन्नुभयोे, “पीडित पक्षलाई स्थानीय केही नेताले मिल्न दबाब दिएर पञ्चायत बसाएको थाहा पाएपछि मैले नै प्रहरीलाई खबर गरेँ । जानकारी पाएलगत्तै पञ्चायतमै प्रहरीको टोली पुगेर हस्तक्षेप गरेको छ ।”

अहिले घटनाको मुद्दा दर्ता भएको छ । फरार आरोपीहरुको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *