पत्रकारलाई अदालतमा बोलाएर माफी माग्न दबाब

११ जेठ २०७८ काठमाडौं । गएराति प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाबीच भेट भएको समाचार प्रकाशित गर्ने दुई अनलाइनका सम्पादकलाई सर्वोच्च अदालतले बोलाएर प्रस्टीकरण सोधेको छ ।
नेपाल समयका प्रधानसम्पादक नारायण अमृत र इमेज खबरका सम्पादक राजन कुइँकेललाई छलफलका लागि भन्दै सर्वोच्च अदालत प्रशासनले उपस्थित गराएको हो ।
दुबै जना नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट र महासचिव रोशन पुरीसहित सर्वोच्च जानुभएको थियो । इमेजखबरका सम्पादक कुइँकेलले सर्वोच्च प्रशासनले समाचारमा सत्यता नभएको दाबी गरेको र आफूहरु पनि आफ्नो स्रोतमा विश्वस्त रहेको बताएको जानकारी दिनुभयो ।
उहाँले अदालत प्रशासनले समाचार गलत भएको भन्दै माफी माग्न समेत दबाब दिएको र त्यो आफूहरुले अस्वीकार गरेको बताउनुभयो ।
प्रकाशित समाचारको विषयमा नियमन गर्ने निकाय प्रेस काउन्सिल भए पनि कानुनको व्याख्याता सर्वोच्चले सिधै सम्पादकलाई बोलाएको हो । पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष विष्टले समाचारको विषयलाई लिएर पत्रकारलाई बोलाउनु गलत भए पनि अदालतप्रतिको सम्मानका खातिर आफूहरू गएको बताउनुभयो ।
सर्वोच्चमा संसद विघटनसम्बन्धी मुद्दा दर्ता भएपछि प्रधानन्यायाधीश जबरा र प्रधानमन्त्री ओलीबीच गोप्य भेटघाट भएको भन्दै दुवै अनलाइनमा समाचार प्रकाशित भएको थियो ।
यसअघि सर्वोच्चले स्वतन्त्र न्यायापालिकाको मर्यादा र गरिमामा आँच आउने भ्रामक समाचार छाप्नेलाई कानुनी कारबाही गरिने चेतावनीसहित विज्ञप्ति निकालेको थियो ।
प्रतिक्रिया