गोली लागेर घाइते माओवादी नेता पाण्डेको मृत्यु

हिमालय टिभी
२०७८ जेठ ११ गते १४:०८
गोली लागेर घाइते माओवादी नेता पाण्डेको मृत्यु

११ जेठ २०७८ कपिलवस्तु । पाँच दिनअघि गोली प्रहारबाट गम्भीर घाइते भएका माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य दिपक पाण्डेको उपचारका क्रममा मृत्यु भएको छ ।

अवस्था गम्भीर भएपछि हेलिकप्टरमा काठमाडौं ल्याइएको एक घण्टामा नै हिजो राति पाण्डेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिनुभयो ।

पाण्डे र एक भारतीय नागरिकमाथि गत बुधबार राति तीन जनाको समूहले तौलिहवा–जितपुर सडकखण्डको सडवामा गोली प्रहार गरेका थिए । पेट र कम्मरमा २ वटा गोली लागेका पाण्डेको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार हुन नसकेपछि हिजो राति ८ बजे हेलिकप्टरमार्फत त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको थियो ।

प्रहरीले उनीहरुमाथि आक्रमण गरेको आरोपमा २ जनालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका वडा १ का ३९ वर्षीय ओमप्रकाश यादव र कपिलवस्तु नगरपालिका–२ का ३३ वर्षीय साकिर अली छन् ।

पाखुरामा एउटा गोली लागेका भारतीय नागरिकको अवस्था भने सामान्य छ । व्यक्तिगत रिसिइबीका कारण पाण्डेमाथि गोली चलाएको अभियुक्तले बयान दिएको डीएसपी भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *