विपक्षी दलद्वारा लुम्बिनीमा मुख्यमन्त्री नियुक्तिसम्बन्धी कागजात माग

हिमालय टिभी
२०७८ जेठ १० गते १९:१८
विपक्षी दलद्वारा लुम्बिनीमा मुख्यमन्त्री नियुक्तिसम्बन्धी कागजात माग

१० जेठ २०७८ बुटवल । लुम्बिनी प्रदेशका विपक्षी चार दलले शंकर पोखरेलको मुख्यमन्त्री नियुक्तिदेखि सांसदको हस्क्षारसम्मको कागजात माग गरेका छन ।

चार दलले आज प्रदेश प्रमुख कार्यालयसँग पोखरेलको नियुक्ति प्रक्रिया र समर्थन जनाउने सांसदहरुको हस्ताक्षरसम्मका कागजपत्र माग गरेका हुन ।

अल्पमतमा रहेका पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले प्रभावमा परेर मुख्यमन्त्री नियुक्त गरेको दाबी गर्दै आएका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले प्रदेश प्रमुखको कार्यालयमा निवेदन दिँदै कागजात उपलब्ध गराउन माग गरेका छन्।

लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले डाकेको प्रदेश सभा विशेष अधिवेशन सम्बन्धी पत्र, मुख्यमन्त्री पोखरलले दिएको राजीनामा, पुनः नियुक्ति र चार दलले माओवादी केन्द्रका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रस्तावसहित बुझाएको कागजपत्र सूचनाको हक सम्बन्धी ऐन २०६४ दफा ३ अनुसार माग गरिएको कांग्रेस सचेतक निर्मला क्षेत्रीले बताउनुभयो ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता र एमालेको माधवकुमार नेपाल पक्षका सांसदको समर्थन नपाउने जोखिम देखेपछि मुख्यमन्त्रीले अविश्वासको प्रस्तावको सामना नगरी पदबाट राजीनामा दिनुभएको थियो । त्यस लगत्तै मुख्यमन्त्री नियुक्त भइ आफ्नै कार्यालयमा प्रदेश प्रमुखलाई बोलाएर सपथ लिनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *