धौलीगङ्गामा पानीको बहान बढ्यो, ड्याम भरिने खतरा

७ जेठ २०७८ काठमाडौं । दिनहुँ भइरहेको वर्षाका कारण भारतको धार्चुलाको धौलीगङ्गा नदीमा पानीको बहाव बढेको छ ।
पानीको बहाव बढ्दै गएको कारण धौलीगङ्गा जलविद्युत परियोजनाको ड्याम भरिने खतरा बढेको छ ।
नदीमा पानीको बहाव बढेपछि परियोजनाको बाँधको ढोका जुनसुकै बेला खोलिने भएको छ ।
भारतीय विद्युत निर्माता एनएचपीसी लिमिटेड, धौलीगङ्गा पावरस्टेशनले ड्याम जुनसुकै बेला पनि खोल्न सकिने भन्दै नेपालको जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्राचार गरेको थियो ।
त्यही पत्रलाई अधार मान्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले सूचनामार्फत नदी तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ । भारतले निर्माण गरेको परियोजनास्थल भन्दा तल नेपालको व्यास गाउँपालिकाको धौलाकोट, दुहुँ, महाकाली, मालिकार्जुन र लेकम गाउँपालिकाका बस्तीहरु पर्छन् ।
यस क्षेत्रका नागरिकलाई महाकाली नदी किनारमा नजान प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले सूचना मार्फत आग्रह गर्नुभएको छ । २०७० सालको बाढीका बेला परियोजनाको ड्यामबाट आएको पानीले दार्चुलाको अधिकांश भूभाग बगाएको थियो ।
पछिल्लो समय नेपालले विरोध जनाएपछि भारतले धौलीगङ्गामा पानी बढ्ने बेला जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्राचार गर्ने गरेको छ ।
प्रतिक्रिया