भूकम्पका कारण लमजुङमा थप दुईसहित छ घाइते, २०० घरमा क्षति

हिमालय टिभी
२०७८ जेठ ५ गते २०:३८
भूकम्पका कारण लमजुङमा थप दुईसहित छ घाइते, २०० घरमा क्षति

५ जेठ २०७८ लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकास्थित भुलभुले केन्द्रविन्दु बनाएर आज बिहान ५ दशमलव ८ रेक्टरको भूकम्पले घर भत्किदा जिल्लाका थप दुईसहित छ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा बेँसीशहर नगरपालिका­६ का ३६ वर्षीय उमा गुरुङ, वडा नं. ११ चितीका ८३ वर्षीय खकाकुमारी पाण्डे र वडा नं. ८ का २९ वर्षीय खुशीमाया गुरुङ र मस्र्याङ्दी गाउँपालिका­६ ठूलीबेँसीका २२ वर्षीय गोविन्द्र अधिकारी र दोर्दी गाउँपालिका­ ७ का ८३ वर्षीय मङ्गलीकुमारी तामाङ र बेँसीशहर नगरपालिका­८ का ६० वर्षीय सुमित्रादेवी श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुमध्ये सुमित्रादेवी, खुशीमाया र गोविन्द भने भाग्ने क्रममा चोट लाग्न पुगी घाइते भएका हुन् । घाइतेहरुलाई जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएको थियो । उनीहरुको टाउको, हात, खुट्टालगायतका शरीरमा चोट लागेको र उपचारपश्चात् गोविन्द बाहेक सबै जना घर फिर्ता भएका छन् । टाउकोमा चोट भएकाले गोविन्दलाई भने थप उपचारका लागि चितवनमा पठाइएको प्रहरी निरीक्षक जगदिश मिश्रले बताउनुभयो ।

त्यस्तै जिल्लामा अनुमानित २०० घरमा भूकम्पले पूर्ण क्षति पु-याएको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लाको सबैभन्दा बढी बेँसीशहर नगरपालिकाका घरहरुमा क्षति पुगेको छ । सो नगरपालिकामा मात्र १०० घरमा क्षति पुगेको देखिएको छ ।” मस्र्याङ्दी गाउँपालिकामा ६० र दोर्दी गाउँपालिकामा ४० घर मान्छे बस्न नमिल्ने गरी घर भत्किएको उहाँले बताउनुभयो ।

यसबाहेक केही घर क्व्होलासोथर गाउँपालिका र मध्यनेपाल नगरपालिकामा समेत क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । भूकम्पले क्षति बनाएका घरहरुमध्ये ३५ जनालाई आज प्रशासनले नेपाल रेडक्रम सोसाइटी जिल्ला शाखामार्फत पाल वितरण गरेको छ भने अन्यलाई प्रशासनले भोलि पाल तथा त्रिपाल वितरण गर्ने योजना रहेको जनाएको छ ।

प्रजिअ लुइँटेलले बस्नै नहुने घरहरुका धनीलाई वडाध्यक्ष र प्रहरीको मुजुल्काको आधारमा जिल्ला विपद् व्यवस्थापन कोषबाट प्रति घर रु १५ हजारसम्म आर्थिक सहयोग गरिने जानकारी दिनुभयो ।

जिल्लामा बिहान सो रेक्टरको भूकम्प गएपश्चात् पटकपटक साना ठूला गरी ५७ वटा परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार चार रेक्टरभन्दा माथिका चार वटा र अरु सोभन्दा कमका रहेका छन् ।

चारभन्दा माथि गएका परकम्पमा बिहान ५ बजेर ४२ मिनेटमा ५.८, आठ बजेर १६ मिनेटमा ४, आठ बजेर १७ मिनेटमा ४.१ र ८ बजेर २६ बजेटमा ५.३ रेक्टर स्केललको भूकम्प गएको केन्द्रले जनाएको छ । जिल्लामा अझै भूकम्पको धक्का पटकपटक महशुस भइरहेको छ । पछिल्लो समय साँझ ७ बजेर ३ मिनेट र ७ बजेर २४ मिनेटमा समेत धक्का महशुस भएको छ ।

भूकम्प पटकपटक जाँदा यहाँका वासिन्दा त्रासित बनेका छन् । उनीहरु कोरोना सङ्क्रमणको बेला समेत कोरोनाभन्दा भूकम्पको डरले बाहिर निस्किएका छन् । बाहिर निस्कदा भीडभाड समेत बढ्नुका साथै कोरोनाको जोखिम समेत बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *