पूर्वप्रहरी महानिरीक्षक खड्गजित बरालको ९३ वर्षको उमेरमा निधन

५ जेठ २०७८ काठमाडौं । पूर्वप्रहरी महानिरीक्षक खड्गजित बरालको ९३ वर्षको उमेरमा निधन भएको छ ।
बरालको बिहान घरमै निधन भएको र दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ । बराल २०२९ सालदेखि २०३५ सालसम्म प्रहरी महानिरीक्षक बन्नुभएको थियो ।
विसं २०३६ देखि २०४२ सालसम्म तत्कालीन बर्मा अहिलेको म्यानमारका लागि राजदूतको जिम्मेवारी सम्हालेका बराल त्यसपछि राष्ट्रिय पञ्चायत सदस्य बन्नुभएको थियो ।
नेपालमा पर्वतारोहण र सीमा सुरक्षाको जग बसाल्न बरालको अग्रणी भूमिका थियो। नेपालीहरू विदेशी पर्वतारोहीका भरियामा मात्र सीमित नभई आफैँ पनि आरोहणमा संलग्न हुनुपर्ने बरालको चाहना थियो। त्यसैले आईजीपी रहँदा बरालकै अग्रसरतामा नेपाल प्रहरी पर्वतारोही प्रतिष्ठान स्थापना भएको थियो।
नेपालको सीमा दक्षिणतर्फमात्र नभएर उत्तरतर्फ चीनसँग पनि जोडिएको छ भन्ने यथार्थ सरोकारवाला पक्षलाई बारम्बार स्मरण गराउनुका अतिरिक्त नेपालको हिमाली भागमा कानूनको प्रत्याभूति दिलाउने भूमिका समेत प्रतिष्ठानले खेलेको थियो।
२०३५ सालमा अवकाश पाउनुअघिसम्म नेपाल(चीन सीमामा ताप्लेजुङस्थित ओलाङचुङगोला, संखुवासभाको किमाथांका, सोलुखुम्बुको थ्याङ्गबोचे, गोरखास्थित छेकम्पार, मनाङस्थित हुम्दे, मुस्ताङको लोमान्थाङ, हुम्लाका मुचू र यारी, डोल्पाको तिन्जे र मुगुमा उहाँले सीमा प्रहरी चौकी स्थापना गर्नुभएको थियो ।
सुरक्षामात्र होइन नेपालको खेलकुद क्षेत्रमा पनि बरालको योगदान छ। बरालले नेपालमा जुडो खेल भित्र्याएको मानिन्छ । जापानबाट प्रशिक्षक झिकाएर नेपालमा यो खेललाई जोड्न बरालले भूमिका खेल्नुभएको थियो । म्यानमार रहँदा शरणार्थीका जीवन बिताइरहेका नेपालीलाई नागरिकता दिलाउन उहाँले ठूलो भूमिका खेल्नुभएको थियो ।
पूर्व प्रहरी महानिरीक्षक बरालको जन्म विक्रम सम्वत १९८५ वैशाख ५ मा नवलपरासीको देवचुली चुली बोझामा भएको थियो । नेपाली कांग्रेसले सुरु गरेको मुक्तिसेनाबाट आन्दोलनमा होमिएका बराल २०१३ सालमा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो ।
प्रतिक्रिया