आइसोलेशन केन्द्र प्रदेशलाई चलाउन नदिएर संघीय सरकारले यसरी अलपत्र पार्‍यो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ ४ गते ६:३३
आइसोलेशन केन्द्र  प्रदेशलाई चलाउन नदिएर संघीय सरकारले यसरी अलपत्र पार्‍यो (भिडियो रिपोर्टसहित)

४ जेठ २०७८ धनगढी । संघीय सरकार मातहत रहने गरी कैलालीको गेटा मेडिकल कलेजमा आइसोलेशन बनाउने निर्णय भएको दुई हप्ता बित्दा पनि आइसोलेशन शुरु भएको छैन । संघीय सरकारले आइसोलेशन बनाउन भनेर शुरु गरे पनि काम अघि बढेको छैन । जसले गर्दा प्रदेश सरकार र स्थानीय तहका जनप्रतिनिधि संघीय सरकारप्रति आक्रोशित छन् ।

यो गत वैशाख २१ गतेको दृश्य । धनगढीको गेटा मेडिकल कलेजलाई प्रदेश सरकारले कोरोना संक्रमितको पनि उपचार गर्ने गरी आइसोलेशन सेन्टर बनाउने तयारी गरेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट यहाँ पुग्नु भएको थियो । यहाँ भएको छलफलमा मन्त्री भट्टले संघीय सरकारकै लगानीमा आइसोलेशन सेन्टर बनाउने जिम्मा लिनु भयो ।

मन्त्रीले यहाँ आइसोलेशन बनाउने घोषणा गरेको १४ दिन भयो। मन्त्री खोसिएका भट्ट फेरि मन्त्री भइसक्नुभयो । अर्थात उहाँ यो बिचमा दुई कार्यकालको मन्त्री भइसक्नु भयो । तर आइसोलेशन सेन्टर बनेन । त्यसैले स्थानीय बासिन्दाले भन्न थालेका छन् । यो देशमा मन्त्री बन्न सजिलो रहेछ । तर एउटा आइसोलेशन बनाउन कठिन ।

स्थानीय बासिन्दा मात्र हैन सुदूरपश्चिम सरकारका मन्त्री पनि आइसोलेशन नबनेकोका आक्रोशित छन् । संघीय सरकारले आफूले पनि नबनाएको र प्रदेश सरकारलाई पनि बनाउन नदिएको उनीहरुको गुनासो छ ।

प्रदेशका मन्त्री मात्र हैन, कैलालीका स्थानीय तहका प्रतिनिधिको पनि उस्तै आक्रोश छ । उनीहरु आफूहरू यो आइसोलेशन केन्द्र चलाउन तयार रहे पनि संघीय सरकारले समन्वय नगरेको बताउँछन । ।

आफूहरुलाई प्रदेश र संघीय सरकारले सहयोग नगरेको उनीहरुको गुनासो छ ।

यसबाट के पुष्टि हुन्छ भने कोरोना संक्रमण नियन्त्रणमा तीन तहका सरकारबीच समन्वय भइरहेको छैन । आइसोलेशन केन्द्र बनाउन मात्र हैन बिरामीका लागि अति आवश्यक अक्सिजनमा समेत अवरोध छ ।

यतिबेला तीनै तहका सरकारको समन्वय र सहकार्यले कोरोना परास्त गर्ने समय हो । तर तीनै तहका सरकारबीच समन्वय नहुँदा काममा अप्ठ्यारो परिरहेको छ । तीन तहको सरकारका लडाइँका कारण नागरिकले ज्यान गुमाउनु परेको छ । त्यसैले यस विषयमा ३ वटै तहका सरकार गम्भिर बन्न जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *