समाज

विवाह, चौरासी पूजा र रुद्रीजस्ता कार्यक्रमले यसरी फैलाउँदै कोरोना (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ ३ गते ६:४१
विवाह, चौरासी पूजा र रुद्रीजस्ता कार्यक्रमले यसरी फैलाउँदै कोरोना (भिडियो रिपोर्टसहित)

३ जेठ २०७८ बागलुङ । बागलुङ जिल्लामा कोरोनाको संक्रमण तिब्र रुपमा फैलिरहेको छ । जिल्लाको शहरी क्षेत्र भन्दा ग्रामीण क्षेत्रमा कोरोना तिब्र रुपमा फैलिरहेको हो । फैलिनुको कारण अरु केही नभई मापदण्ड पूरा नगरी भिडभाडसहित गरिएका विवाह, चौरासी पूजा, रुद्री लगायतका कार्यक्रम हुन् ।

घटना एक : बागलुङको बडिगार्ड गाउँपालिका वडा नम्बर ४ जलजलामा वैशाखको दोस्रो साता एउटा विवाह समारोहमा सहभागी एकै परिवारका चार जनाको कोरोनाका कारण मृत्यु भयो । विवाहमा सहभागी धेरैलाइ कोरोना संक्रमण भयो ।

घटना दुई : बागलुङ नगरपालिका–१ रामरेखामा भएको एउटा चौरासी पूजामा सामेल भएकालाई पनि संक्रमण पाइएको छ ।

घटना तीन : बागलुङ नगरपालिका वडा नम्बर ८ सिगानाबाट जिल्ला प्रहरी कार्यालय बागलुङको टोलीले स्वास्थ्य मापदण्डविपरीत जन्ती भन्दै दुलहा र दुलहाका बुबालाई कारबाही समेत गर्नुपर्यो । प्रशासनले सात जना मात्र जन्ती लैजान भने पनि बिहेमा ३ सय जना सामेल थिए ।

यी ३ घटनाबाट साना शहर तथा ग्रामीण क्षेत्रमा भैरहेको लापरबाही र त्यसले ग्रामीण क्षेत्रमा कोरोना कसरी फैलिरहेको छ भन्ने पुष्टि हुन्छ ।
देशका ७३ जिल्लामा अहिले निषेधाज्ञा जारी छ । विवाह ब्रतवन्ध पूजाआजासहितका धार्मिक काममा भीडभाड गर्न प्रतिबन्ध छ । तर सबै जसो ठाउँमा विवाह ब्रतवन्ध पूजा लगायतका धार्मिक काम भइरहेका छन् ।

त्यस्ता कार्यक्रम नै कोरोना संक्रमणको माध्यम बनेका छन् । जिल्लामा अहिले सात सय भन्दा बढी संक्रमित छन् । त्यसैले यस्ता कार्यक्रम तत्काल बन्द गर्न स्वास्थ्य कार्यालय बागलुङले आग्रह गरेको छ ।

कोरोनाको पहिलो लहरका बेला पोहोर विदेशबाट आउने मान्छेलाई कडा रुपमा क्वारन्टिनमा राखिएको थियो । तर यसपाली अधिकांश स्थानीय तहमा क्वारन्टिनको व्यवस्था छैन । शहरी क्षेत्रका मानिस पनि निषेधाज्ञा भएपछि गाउँ फर्केका छन् । तर उनीहरुले स्वास्थ्य मापदन्ड पालना गरेका छैनन । त्यसैले शहर तथा विदेशबाट फर्किएका व्यक्तिका कारण पनि गाउँ गाउँमा कोरोना संक्रमण फैलिएको छ ।

दोस्रो लहरको कोरोना भाईरसको संक्रमण दर उच्च छ । प्रशासनले समयमै बिवाह ब्रतबन्ध चौरासी पूजा जस्ता कार्यक्रमलाई समयमै नरोक्नुले यस्तो समस्या आएको आम बुझाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *