गण्डकीका मुख्यमन्त्रीको पद जोगाउने अनेक दाउ, स्वतन्त्र सांसद मन्त्री नियुक्त (भिडियो रिपोर्टसहित)

१६ वैशाख २०७८ पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले सत्ता टिकाउन अनेक दाउपेच गरिरहनुभएको छ । यसैक्रममा उहाँले आज स्वतन्त्र सांसदलाई मन्त्री बनाउनुभएको छ ।
मुख्यमन्त्री गुरुङले सत्ता जोगाउन दीपक मनाङे नामले चिनिने गण्डकी प्रदेशका सांसद राजीव गुरुङलाई मन्त्री बनाउनुभएको हो । मनाङेलाई प्रदेश प्रमुख अमिक शेरचनले सपथ गराउनुभयो ।
मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ । मनाङ ‘ख’ बाट स्वतन्त्र उम्मेदवार बनेर जितेका गुरुङलाई प्रदेशसभा निर्वाचनमा नेकपा एमालेले साथ दिएको थियो ।
मुख्यमन्त्री गुरुङविरुद्ध प्रस्तुत अविश्वास प्रस्ताव मतदानमा जानै लाग्दा मनाङेलाई मन्त्री बनाइएको छ । दुई दिन अघिसम्म अविश्वास प्रस्तावका पक्षमा मतदान गर्ने सार्वजनिक अभिव्यक्ति दिइरहेका मनाङेलाई मुख्यमन्त्री गुरुङले मन्त्री नियुक्त गरेर आफ्नो साथमा लिनुभएको छ ।
अविश्वासको प्रस्ताव दर्ता गराएका कांग्रेसका १५ र माओवादी केन्द्रका १२ सांसदमध्ये एक जना सभामुख भएकाले ११ जनाले मत हाल्ने पाउनेछन् । जनता समाजवादीका २ र राष्ट्रिय जनमोर्चाका ३ सांसदले अविश्वासको प्रस्तावमा मतदान गर्ने बताइरहेका छन् ।
६० सांसद रहेको गण्डकी प्रदेश सभामा बहुमतका लागि ३१ मत आवश्यक पर्छ । मनाङे मन्त्री भएपछि गण्डकी प्रदेशमा अविश्वास प्रस्ताव पारित हुन कांग्रेस, माओवादी, जसपा र राजमोका सबै सांसदले मत हाल्नु पर्नेछ ।
प्रतिक्रिया