कोरोना संक्रमणबाट कञ्चनपुरमा दुई जनाको मृत्यु

हिमालय टिभी
२०७८ वैशाख १४ गते ६:१०
कोरोना संक्रमणबाट कञ्चनपुरमा दुई जनाको मृत्यु

१४ वैशाख २०७८ महेन्ख्रनगर । कोरोना भाइरस सङ्क्रमणबाट हिजो कञ्चनपुरको भीमदत्त नगरपालिकाका दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भीमदत्त नगरपालिका–४ का ६० वर्षीय पुरुष र सोही नगरपालिका–१५ का ७० वर्षीय पुरुष रहेको छ । उपचारका क्रममा हिजो दुबै जनाको महाकाली अस्पतालमा मृत्यु भएको हो ।

कोरोना सङ्क्रमणपछि दुबै जनालाई उपचारका लागि सो अस्पतालमा भर्ना गरिएको थियो । बितेको तीन दिनमा अस्पतालमा उपचाररत तीन सङ्क्रमितको मृत्यु भइसकेको महाकाली अस्पताल कोभिड–१९ सम्पर्क व्यक्ति डा गोविन्द रोकायाले जानकारी दिनुभयो । उहाँले हाल अस्पतालमा ६० जना सङ्क्रमितको उपचार भइरहेको जानकारी दिनुभयो ।

त्यसैगरी, यहाँको गड्डाचौकी नाकाबाट भारत जान हिजो बिहानदेखि रोक लगाएको छ । भारतमा कोरोना सङ्क्रमण बढ्दै गएका बेला यहाँको स्थानीय प्रशासनले नेपाली नागरिकलाई भारत जान रोक लगाएको हो ।

इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक जीवन गुरुङले आइतबार बेलुकीदेखि नै भारत जाने क्रम न्यून रहेको बताउनुभयो । उहाँले भारतबाट भने नेपालीहरुलाई गड्डाचौकी नाकाबाट स्वदेश फिर्ता हुन दिइएको बताउनुभयो ।

“अहिले यो नाकाबाट दैनिक पाँचदेखि सात सयजना स्वदेश फर्किरहेका छन्”, प्रहरी नायब उपरीक्षक गुरुङले भन्नुभयो, “आउनेहरुको नाकामा स्वास्थ्य परीक्षण पनि भइरहेको छ ।” स्थानीय प्रशासनले आंशिक बन्दाबन्दी (लकडाउन) गर्ने विषयमा गृहकार्य गरिरहेको छ ।

त्यस्तै, यहाँका स्थानीय तहहरुले पनि कोरोना सङ्क्रमण बढ्न थालेपछि कार्यपालिकाको कामकाज बन्द गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *